नेपाली खेलाडीको ओलिम्पिक्स आशा

  • 7 मार्च 2012
नेपाली धाविका ओलिम्पिक्सको तयारीमा तस्वीर कपीराइट Jitendra Raut
Image caption वाइल्ड कार्डबाट ओलिम्पिक्समा सहभागी हुन पाउने आशामा धाविका प्रमिला रिजाल पनि छिन्

विश्वको सबैभन्दा ठुलो खेल मेलासम्म पुग्न विश्वका हरेक खेलाडीले झै नेपाली खेलाडीले पनि छनोट चरणको कडा परीक्षाबाट गुज्रिनुपर्छ जुन नेपाली खेलाडीको लागि सधैं फलामको च्युरा सावित हुंदै आएको छ।

आगामी जुलाईमा लन्डनमा हुने ३० औं गृष्मकालीन ओलिम्पिक्सको छनोट यात्रामा पनि नेपाली खेलाडीहरुले यस्तै समस्याको सामना गरिरहेका छन्।

विभिन्न खेलका खेलाडीहरुले गरेको अहिलेसम्मको सबै प्रयास असफल भइसकेको छ र अब खेलाडीहरुसंग एउटै विकल्प छ वाइल्ड कार्डको बाटो हुंदै लन्डनसम्म पुग्नु।

वाइल्ड कार्ड

ओलिम्पिक जस्तो महान खेलमेलामा आफ्ना कुनै पनि सदस्य राष्ट्र अनुपस्थित हुन नपरोस भनी अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी(आइओसी)ले वाइल्ड कार्डको प्रणाली थालेको हो।

वाइल्ड कार्डका लागि यसपाली नेपाल ओलिम्पिक कमिटीले ६ खेलका १८ खेलाडीको नाम आइओसीलाई अनुरोध गरेको ओलिम्पिक कमिटीले जनाएको छ। ती खेलाडीहरु हुन् एथलेटिक्सका प्रमिला रिजाल, सावित्री नेपाली, तिलकराम थारु र राजेन्द्र भण्डारी।

पौडीमा श्रेया धिताल, शैलेस राणा र प्रसिद्धजंग शाह। बक्सिङका पूर्ण बहादुर लामा, सन्जु लामा र सरस्वती राना, तेक्वान्दोकी आयशा शाक्य र रोहित तामाङ, शुटिङका स्नेहा राणा र अस्मिता राई, जुडोका दिपक कृष्ण श्रेष्ठ र फुपु लामा खत्री तथा साइक्लिङमा अजय पण्डित क्षेत्री र निर्जला ताम्राकार रहेका छन्।

यी खेलाडीहरुमा एथलेटिक्स र पौडी ओलम्पिकको आधिकारिक खेल भएकाले दुबै खेलबाट एक पुरुष र एक महिला खेलाडीको उपस्थिति निश्चित हुने गर्छ। बांकी खेलका खेलाडीहरुको सहभागीता भने आइओसीको निर्णयमा निर्भर हुन्छ । नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष ध्रुबबहादुर प्रधान भन्छन्, “हामीले योग्य खेलाडीहरुलाई वाइल्ड कार्डका अनुरोध गरेका छौं । ओलिम्पिकको छनोट चरणका सवै खेलहरु सकिएपछि वाइल्ड कार्डको निर्णय हुनेछ।“

असफल प्रयास

सन् २००४ र २००८ मा तेक्वान्दो खेलाडीले छनोट चरण पार गरेकोले लन्डन यात्रामा पनि तेक्वान्दोबाट आशा गरिएको थियो। तर यसपाली तेक्वान्दो टोली सफल हुन सकेन। तेक्वान्दोले गत नोवेम्वरमा अजरबैजानमा भएको युरोपेली छनोटमा भाग लिन सकेन। खेलाडीहरुले हवाई टिकट नपाएपछि सो मौका गुमेको थियो।

त्यस्तै आर्चरीले दुईपटक प्रयास गर्यो। दुवै पटक असफल भयो।

शुटिङका स्नेहा राणा र अस्मिता राईले ओलिम्पिकमा वाइल्ड कार्ड दावी गर्न लायक एमक्युएस मिनिमम् क्वालिफाइङ स्कोर गरेका छन्।

तस्वीर कपीराइट AP
Image caption लण्डन ओलिम्पिक्समा वाइल्ड कार्डका लागि १८ खेलाडीको नाम प्रस्ताव गरिएको छ

गत २०१० एसियाली खेलकुदमा काश्य पदक जितेका दिपक महर्जनले गत सेप्टेम्वरमा दक्षिण कोरियाको सोलमा भएको एसियन च्याम्पियनसिपमा पराजित भए ।

ओलिम्पिक पुग्न कम्तीमा काश्य पदक जित्न जरुरी हुन्छ । अव उनले मार्चमा ताजिकिस्तानमा हुने ओलिम्पिक छनोट चरणमा प्रयास गर्नेछन्।

दिपक भन्छन्, "यसको लागि मैले दिनरात एक गरेको छु।"

छनौट

विश्वका सवैभन्दा राम्रा खेलाडीहरुको जमघट हुने स्पर्धामा अहिलेसम्म दुई नेपाली खेलाडीले मात्र छनोट चरणको जंजिर तोडेका छन् । सन् २००४ को एथेन्स ओलिम्पिकमा तेक्वान्दोकी संगिना वैद्यले र सन् २००८ को वेइजिङ ओलिम्पिकमा तेक्वान्दोका दिपक विष्टले ।

सन् २००० को ओलिम्पिकबाट अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीले छनोट चरण पार गर्नु पर्ने नियम बनाएको थियो। त्यसअघि खेलाडीहरु सिधै ओलिम्पिकमा खेल्न पांउथे। अहिलेसम्म विभिन्न सात खेलका, ६ दर्जन नेपाली खेलाडीहरु ओलिम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन्।