‘समायोजन सम्बन्धी निर्णय चाँडै’

  • 12 मार्च 2012
माओवादी लडाकु
Image caption आउदो साता अन्तिम सम्म सेना समायोजन प्रक्रिया अघि बढ्नेमा नेताहरु आशावादी देखिन्छन्

माओवादी सेना समायोजन विशेष समितिको मंगलवार बस्ने बैठकले समायोजन प्रकृया अघि बढाउन ठोस निर्णय लिन सक्ने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताएका छन्।

समायोजनमा जाने लडाकुको दर्जाबारे रहेको असहति हल गर्न नेताहरु लचिलो भएकाले फागुन मसान्तसम्म समायोजन प्रक्रिया शुरु हुने उनको भनाइ थियो।

हाल सम्म दर्जा विवादले अघि बढ्न नसकेको समायोजन प्रकृयालाई अगाडि बढाउन माओवादी र गैर माओवादी दलहरु बीचको बाटो खोज्न सहमत भएको माओवादी नेताहरुले बताए।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार पौडेलले प्रस्तावित महानिर्देशनालयको सचिवालयमा सेना र लडाकु दुबैको प्रतिनिधित्व गराउनेबारे सहमति हुनै लागेको बताए।

मंगलबार कुनै ठोस निर्णय हुने सम्भावना रहेको ‌पनि उनले जनाए।

प्रतिनिधित्व

“महानिर्देशानलयमा दुवै पक्षको प्रतिनिधित्व हुने गरी कुरा अगाडि बढिरहेकाले भोलि यो विषयमा ठोस निर्णय हुन सक्छ” पौडेलले भने।

माओवादीले समायोजन प्रकृया मंगलवार वस्ने विशेष समितिको बैठकबाट अघि बढाउने बताएको नेपाली काँग्रेसका नेता तथा विशेष समिति सदस्य मिनेन्द्र रिजालले बताए।

“आइतवारको बैठकमा माओवादी नेताहरुले सातबुँदे अनुसार समायोजन प्रकृया अगाडि बढाउने भनेका छन् र यस वारेमा मंगलवार वस्ने विशेष समितिले निर्णय लिन सक्ने उल्लेख गरेका छन्” रिजालले भने।

यस अघि माओवादीले महानिर्देशानलयको नेतृत्व माग्दै आए पनि पछिल्लो समय समायोजन पछि बन्ने सेनाको नयाँ इकाईको नीति निर्माण तहमा कम्तिमा एक जना लडाकु हुनु पर्ने अडान राख्दै आएको छ।

विभेद

“दुवै पक्षको प्रतिनिधत्व भए विवाद समाधान गर्न सजिलो हुने भएकाले हामीले प्रतिनिधित्व चाहियो भन्दै आएका हौ,” पौडेलले भने।

तर काँग्रेस नेताहरु सातबुँदे सहमति अनुसार नै समायोजन गर्न माओवादी राजी भएको भन्दै माओवादीको सेना प्रतिको शंका आधारहीन भएको बताउँछन्।

“नेपाली सेनामा गइसके पछि को पहिले कताबाट आएको भनेर विभेद गर्न मिल्दैन” रिजालले भने, “ नेपाली सेनाले त्यसै अनुसार आफ्नो संस्थालाई अगाडि लैजान्छ, त्यो एउटा पार्टीको सेना होइन, राष्ट्रको हो।”