'समायोजनमा कमाण्डरहरूको सहमति'

  • 15 मार्च 2012
माओवादी शीर्ष नेताहरु
Image caption सेना समायोजनबारे अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले कमाण्डरहरुसँग छलफल गरे

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार कमाण्डरहरुसँग छलफल गरी समायोजन प्रकृया तत्काल अघि बढाउन उनीहरुको सहमति खोजेका थिए।

पहिलो र दोस्रो तहका कमाण्डरहरुसँग भएको भेलामा प्रचण्डले लचिलो भएर समायोजन प्रक्रियालाई तुरून्तै अघि बढाउनु पर्नेमा जोड दिएको कमाण्डरहरुले बताए।

बैठकमा सहभागी माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले भने, “छलफल गर्दा सेना समायोजनमा ढीला गर्नु हुदैन भन्ने कुरा भयो ।”

सहमति

अध्यक्ष प्रचण्डले समयमै संविधान निर्माण कार्य सक्न पनि समायोजन प्रक्रिया अगाडि बढाउनु पर्ने बताएको पासाङले जानकारी दिए।

उनले थपे, “ सबै कमाण्डरहरुले अध्यक्षले भनेको कुरामा सहमति जनायौं।”

उक्त बैठकमा प्रचण्डले आफुहरुको मनोविज्ञान र आकांक्षाहरु बुझ्न खोजेको एक कमाण्डरले नाम उल्लेख नगर्ने शर्तमा बीबीसीलाई बताए ।

प्रचण्ड र प्रधानमन्त्रीले कुनै ठोस प्रस्ताव बैठकमा प्रस्तुत नगरेको पनि ती कमाण्डरले जनाए।

तर समायोजन पछि बन्ने सचिवालयमा लडाकुको प्रतिनिधित्व हुनु पर्नेमा लडाकुहरुले जोड दिएको बुझिएको छ।

सेनामा समायोजन गर्न लागिएको हो वा भर्ति गर्न भन्ने प्रश्न आफुहरुले दुबै नेताहरुलाई गरेको एक कमाण्डरले बताए।

शुक्रबार बस्ने विशेष समिति बैठकमा माओवादीले अपनाउने लचकताका सम्बन्धमा कमाण्डरहरुको पूर्व स्वीकृति लिने उद्देश्यले प्रचण्ड र प्रधानमन्त्रीले छलफल गरेको हुन सक्ने बताईएको छ।

अल्टिमेटम

यसैबीच नेकपा एमालेले पूर्व माओवादी लडाकुहरूको समायोजन प्रक्रिया सात दिन भित्र शुरु गर्न माओवादीलाई अल्टिमेटम दिएको छ।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले उक्त निर्णय गरेको थियो।

एमाले नेता तथा विशेष समिति सदस्य भिम रावलले भने “ अब पनि त्यो काम अघि नबढ्ने हो भने माओवादी र सरकारले नगरेको कामको बारेमा अन्य दलहरुसँग छलफल गर्ने छौं।”