‘समायोजन मापदण्ड र विधि पाँच दिन भित्र’

  • 22 मार्च 2012
पूर्व माओवादी लडाकुहरु
Image caption खासगरी दर्जा मिलानको विवादका कारण समायोजन प्रक्रिया अघि बढ्न सकेको छैन

शान्ति प्रक्रियामा महत्वपूर्ण मानिएको सेना समायोजन विशेष समितिको बैठकले सात बुँदे सहमति अनुसार समायोजनको विधि, प्रक्रिया र मापदण्ड पाँच दिन भित्र पेश गर्न विशेष समिति सचिवालयलाई निर्देशन दिएको छ।

विशेष समिति बैठकको शुरुमै प्रधानमन्त्री बाबुराम भट्टराईले समायोजनमा जाने ईच्छा देखाएका तर समायोजनमा लान नसकिने पूर्व माओवादी लडाकुहरुका बारेमा एजेण्डा पेश गरेका थिए।

विधि

त्यसपछि विशेष समिति सदस्यहरुमाझ प्रमुख दलहरुबीच भएको सात बुँदे सहमति अनुसार समायोजन अघि बढाउने सहमति भयो।

विशेष समिति सदस्य मिनेन्द्र रिजालले भने, “सात बुँदे सहमति अनुसार सेना समायोजनलाई अघि बढाउन पाँच दिन भित्र समायोजनको विधि, प्रक्रिया र मापदण्ड पेश गर्न सचिवालयलाई निर्देशन दिएका छौं।"

प्रमुख दलहरुबीच ६५ सय पूर्व माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने सहमति बनेको थियो।

तर पुनर्वर्गीकरणको बेला नौ हजारभन्दा केही बढी लडाकुले समायोजन रोजेका थिए।

विकल्प

विशेष समितिका सदस्य रिजालका अनुसार समायोजनमा जाने ईच्छा देखाएका शिविरमा रहेका पूर्व माओवादी लडाकुलाई फेरि एकपल्ट स्वेच्छिक अवकाश र पुनर्स्थापनाको विकल्प रोज्न दिने निर्णय पनि भएको छ।

सेनाको प्रस्तावित महानिर्देशनालयमा माओवादीले पाउने दर्जाबारे टुंगो नलागेपछि समायोजन लगायतका मुद्दा अघि बढ्न सकेका छैनन्।

सेना समायोजन प्रक्रिया अब सात बुँदे अनुसार हुने भएकाले विना अवरोध अघि बढ्ने विशेष समिति सदस्यहरुले बताएका छन्।