‘लडाकूलाई सेनाको जिम्मा देउ’

  • 23 मार्च 2012
माओवादी लडाकुहरु
Image caption स्वेच्छिक विदाइ रोज्ने लडाकुहरु घर गए पनि समायोजन प्रक्रिया शुरु भएको छैन

समायोजन हुने पूर्व माओवादी लडाकूहरुलाई सेनाको जिम्मा नलगाएसम्म संविधान निर्माण प्रक्रिया अघि नबढ्ने प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकापा एमालेका नेताहरुले दोहोराएका छन्।

बिहीबारको विशेष समितिको बैठकले आशातित निर्णय ‌नगरेको भन्दै शीर्ष नेताहरु सम्मिलित विवाद समाधान उपसमितिको शुक्रबारको बैठकमा समायोजन प्रक्रिया एउटा फर्काउन नसकिने बिन्दुमा नपुगेसम्म संविधानको काम अगाडि नबढ्ने उनिहरुले बताए।

यसअघि शुक्रवारसम्म संविधानका मुख्य विवादित विषयहरुमा सहमति जुटाइने नेताहरुले बताएका थिए।

शान्ति प्रक्रियामा प्रगति नभए संविधान निर्माण अगाडि बढाउन नसकिने नेपाली कांग्रेस र नेकापा एमालेका नेताहरुले दोहोराएपछि विवाद सामाधान उपसमितिको बैठक विषय वस्तुमा प्रवेश नगरिकनै टुङगिएको थियो।

बैठकमा सहभागी कांग्रेस उप सभापति रामचन्द्र पौडेलले भने “समायोजन हुन चाहने माओवादी लडाकूलाई सेनाको जिम्मा लगाउने निर्णय हुने अपेक्षा हामिले गरेका थियौं, तर त्यसो भएन। ”

नेपाली कांग्रेसको अडानलाई एमालेले पनि साथ दिएको छ।

अपरिवर्तनीय बिन्दु

एमाले नेता अग्नि खरेलले भने, “माओवादी लडाकूहरुको समायोजन प्रक्रिया एउटा अपरिवर्तनीय बिन्दुमा पुग्नु पर्छ, त्यसको लागि उनीहरुलाई सेनाको जिम्मा लगाइनु पर्छ।”

विवाद समाधान उपसमितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले बैठकमा समायोजनको प्रक्रिया अघि बढेकोले संविधान लेखनलाई पनि संगसंगै बढाउनु पर्ने जिकिर गरेको नेताहरुले बताए।

तर विपक्षिहरुले नमानेपछि समायोजनबारे विशेष समितिको सचिवालयले आउँदो चैत १४ गते प्रस्तुत गर्ने खाकापछि मात्र अर्को बैठक बस्ने भएको छ।