माओवादीलाई कर्णेल दर्जा दिने सहमति भएको संकेत

  • 29 मार्च 2012
माओवादी लडाकूहरु
Image caption समायोजन प्रकृया अघि नबढ्दा संविधान लेखन पनि अघि बढ्न सकिरहेको छैन

समायोजनमा जाने माओवादी लडाकूलाई माथिल्लो दर्जा 'कर्णेल' दिएर अवरुद्ध समायोजन प्रकृया तत्काल थाल्न विपक्षी पार्टीहरुसँग सैद्धान्तिक सहमति भएको संकेत प्रधानमन्त्रीका एकजना सल्लाहकारले दिएका छन्।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले त्यस्तो संकेत गरेका हुन्।

नेपाली सेनामा माओवादी लडाकूको समायोजन गर्दा उनीहरुलाई दिइने माथिल्लो दर्जाबारे माओवादी र विपक्षी दलहरुबीचको मतभेदले समायोजन प्रकृया अवरुद्ध भएको थियो।

'कर्णेल'

उक्त अवरोध चिर्ने गरी सैद्धान्तिक सहमति भएको सल्लाहकार पौडेलको भनाइ छ, "हामीले ब्रिगेडियर जनरल भनेका थियौं, मेजरभन्दामाथि जान नसकिने अरू दलको अडान थियो, बीचको मिलन विन्दू खोजेर सहमति गर्ने गरी सैद्धान्तिक कुरा टुंगिएको छ।"

उनले बताएका बीचको मिलन विन्दू भनेको कर्णेल हुने धेरैको बुझाइ छ।

तर नेपाली सेनामा महासेनानी र प्रमुख सेनानी दुवैलाई कर्णेल भनिन्छ।

त्यसमध्ये कुन पदमा सहमति भएको हो भन्ने कुरा उनले बताएनन्।

प्रतिनिधित्व

प्रधानमन्त्री बाबुराम भट्टराई समायोजनमा देखिएको गाँठो फुकाउन केही दिनयता विपक्षि दल र सैनिक नेतृत्वसँगको परामर्शमा व्यस्त देखिंदै आएका छन्।

बिहीवार भएको भनिएको सहमतिलाई शुक्रवार सेना समायोजन विशेष समितिको बैठकबाट औपचारिकता दिने प्रधानमन्त्रीको योजना रहेको सल्लाहकार पौडेलको भनाइ छ।

बिहीवार साँझसम्मको प्रगति सुनाउँदै उनले भने, "सैनिक महानिर्देशनालयको सचिवालयमा समायोजनमा जाने माओवादी लडाकूको पनि प्रतिनिधित्व हुने गरी टुंगो लगाउन विशेष समितिको बैठक डाकिएको छ।"

सरकारको योजना अनुसार काम अगाडि बढेमा शान्ति प्रकृयालाई शर्तको रुपमा लिइरहेका विपक्षीहरुलाई नयाँ संविधान लेखनमा केन्द्रित हुन दवाव बढ्ने कतिपयको विश्लेषण छ।