पूर्व प्रहरी प्रमुख बोहोरा अदालतद्वारा भ्रष्टाचारी ठहर

  • 3 एप्रिल 2012
विशेष अदालत तस्वीर कपीराइट bbc
Image caption चार वर्ष अघि सफाई पाएका पूर्व प्रहरी प्रमुख बोहोरालाई विशेष अदालतले मंगलवार भ्रष्टाचारी ठहर गरेको छ

विशेष अदालतले पूर्व प्रहरी प्रमुख मोतीलाल बोहोराले सार्वजनिक पदमा छँदा पदीय दुरुपयोग गरि करिव २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद हुनुपर्ने फैसला गरेको छ।

यो फैसलासँगै भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने पूर्व प्रहरी प्रमुखको संख्या चार पुगेको छ।

कैद र जरिवाना

विशेष अदालतका तीन जना न्यायाधीशहरु गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले पूर्व प्रहरी प्रमुख मोतीलाल बोहराले करिव २७ लाख रुपैयाँ भ्रष्टाचार गरेर कमाएको ठहर गर्दै त्यो रकम उनीबाट भराउने फैसला गरेको छ।

साथै बोहोरालाई त्यती नै रकम वराबर जरिवाना र डेढ वर्ष कैद सजाय हुने फैसला पनि न्यायाधीशहरुले गरेका छन।

फैसलाबारे विशेष अदालतका रजिष्ट्रार धिरबहादुर चन्दले भने, “बोहोराको मुद्दाको तथ्यभित्र प्रवेश गरेर फेरी सुनुवाइ गर्न सर्वोच्चले जुन आदेश दिएको थियो त्यसै अनुसार मुद्दाको तथ्यमा प्रवेश गरेर सुनुवाइ गर्दा यस्तो फैसला आएको हो।”

नेपाल प्रहरीको प्रमुख हुँदा बोहोराले करिव दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै आठ वर्षअघि उनि विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तर विशेषका तत्कालिन न्यायाधीशहरुले बोहोरालाई सफाइ दिएपछि त्यस विरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावलोकन गरेको थियो।

सर्वोच्चले बोहोरालाई सफाइ दिने फैसला त्रुटीपूर्ण भएको बताउँदै मुद्दाको तथ्यमा प्रवेश गरेर फेरि सुनुवाइ गर्ने आदेशका साथ बोहोराको मुद्दा पुन: विशेष अदालतमै फर्काई दिएको थियो।

मंगलबारको फैसलापछि अब बोहोराले कानुनी रुपमा लिनसक्ने कदमबारे रजिष्ट्रार चन्दले भने, “विशेष अदालतको फैसला चित्त नबुझे ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने अधिकार बोहोरासँग सुरक्षीत छ।”

सफाइ

विशेषका अदालतका तत्कालिन न्यायाधीशहरु भुपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शम्सेर राणाले २०६४ साल जेठमा बोहोरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएका थिए।

तिनै न्यायाधीशहरुले सफाइ दिएका अर्का पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेलको मुद्दालाई पनि सर्बोच्च अदालतले फेरि विशेष अदालतमै फर्काइ दिएको थियो, जसमा विशेष अदालतले बुधवार फैसला गर्दैछ।

यसअघि सुडान भ्रष्टाचार प्रकरणमा तीन पूर्व प्रहरी प्रमुखहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई विशेष अदालतले नै दोषी ठहर गरिसकेको छ।