बैद्यपक्षद्वारा प्रचण्ड र भट्टराईको पुत्ला दहन

  • 6 एप्रिल 2012
प्रचण्ड, किरण तथा प्रधानमन्त्री भट्टराई (फाइल फोटो)
Image caption वरिष्ठ माओवादी नेताहरु अब एउटै मन्चमा देखिन छाडेका छन्।

माओवादी उपाध्यक्ष मोहन बैद्य र सचिव सिपी गजुरेलकै नेतृत्वमा काठमाण्डौंमा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला जलाईएको छ।

जनआन्दोलन दिवसको अवसर पारेर शुक्रबार दुबै पक्षले अलग अलग कार्यक्रम गरी एक अर्काको आलोचना गरेका थिए।

पञ्चायत विरोधी जनआन्दोलन सफल भएको दिन २०४६ साल चैत २४ र दोस्रो जनआन्दोलन शुरु भएको दिन चैत २४ गतेको सम्झनामा माओवादीको संस्थापन र असन्तुष्ट पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका हुन्।

आलोचना

संस्थापन पक्षले काठमाण्डौंको बसन्तपुर र असन्तुष्ट पक्षले रत्नपार्कको शान्ति बाटिकामा कार्यक्रम गरी एकअर्काको उछितो काढे।

संस्थापन पक्षको कार्यक्रममा बोल्ने नेताहरुले वैद्य पक्षसँग अझै युद्धको धङधङी बाँकी रहेको आरोप लगाए।

त्यसरी खुलेर आलोचना गर्नेमा माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई पनि थिए ।

उनले भने, “शान्तिपूर्ण आन्दोलन, गणतन्त्र केही पनि होइन भन्ने चरम अवसरवादी र संकीर्णवादी चिन्तन पनि देखिएको छ। त्यसप्रति सचेत हुनु जरुरी छ ।”

संस्थापन पक्षले आलोचना गरिरहँदा उपाध्यक्ष मोहन बैद्यले चाहिं माओवादीको वास्तविक सिद्धान्तलाई आफुहरुले मात्र बोकेर हिंडेको दाबी गरे ।

संस्थापन पक्षसँग विचार नमिलेकाले नै आफुहरुले छुट्टै कार्यक्रम गर्नु परेको उल्लेख गर्दै बैद्यले भने, “जुन पक्षले पार्टीको विचारलाई छोड्छ त्यो वास्तविक पार्टी हुन सक्दैन ।”

बैद्यले माओवादीको वास्तविक सिद्धान्त आफुहरुले मात्र बोकेर हिंडेकाले वास्तविक माओवादी आफुहरु भएको दावी गरे ।

संस्थापन पक्षले आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड चाहिं स्वास्थ्य समस्याको कारण देखाउँदै उपस्थित भएनन् ।

तर प्रचण्ड निकट मानिने माओवादी नेता एवं अर्थ मन्त्री वर्षमान पुनले बैद्यपक्षतर्फ लक्षित गर्दै पानी धमिलिएको बेला एउटा स्वार्थी समूहले शान्ति प्रक्रियामा भाँजो हाल्न खोजेपनि जेठ १४ अघि नै शान्ति प्रक्रिया टुंगिने र संविधान जारी हुने दाबी गरे।

संस्थापन पक्षकै कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नी हिसिला यमीले काठमाण्डौंमा सरकारले फोहोर बढार्ने अभियान शुरु गरेको उल्लेख गर्दै माओवादी भित्र पनि सरसफाइ अभियान शुरु भइसकेको बताएकी थिइन्।

बैद्य पक्षको कार्यक्रमपछि उक्त समूहका कार्यकर्ताहरुले गरेको प्रचण्ड र प्रधानमन्त्री भट्टराईको पुत्ला दहनले फुटको संघारमा पुगेको भनिएको माओवादीको घर झगडाको आगोमा घिउ थप्न सक्ने अनुमान धेरैले गरेका छन्।