बैद्य पक्षको प्रदर्शनमा प्रहरी हस्तक्षेप

  • 11 एप्रिल 2012

माओवादी लडाकु, हतियार, कन्टेनर र सम्पूर्ण सामग्री नेपाली सेनाको जिम्मा लगाउने मंगलबारको निर्णयको विरोधमा माओवादीको मोहन बैद्य पक्षीय समूहले बुधबार गरेका विरोधका कार्यक्रमलाई सरकारले सुरक्षाकर्मी लगाएर निस्तेज पार्ने प्रयास गरेको छ ।

Image caption सेना र हतियार नेपाली सेनालाई बुझाउने निर्णय बिरुद्ध मोहन बैद्य समूहले गरेको प्रदर्शनमा हस्तक्षेप भएको छ

द्वन्द्व कालमा आफ्नो पार्टीसँग लडेको र उतिबेला आफैले दुस्मनको घोषणा गरेको नेपाल प्रहरीकै सहारा लिएर माओवादी नेतृत्वकै सरकारले आफ्नै पार्टीका नेताहरुले गरेका कार्यक्रम तितरबितर पारेको हो ।

हस्तक्षेप

विशेष समितिको मंगलबारको निर्णयबाट रिसाएको माओवादीको बैद्य पक्षधर समूहले बुधबार बिहान १० देखि ११ बजेसम्म देशभर चक्काजाम गर्यो भने साँझ कडा सुरक्षा घेराबीच अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला जलाउने प्रयास गर्यो।

साँझ साढे ६ बजे राजधानी काठमाण्डौंका विभिन्न स्थानमा मसाल जुलुस निकाल्न वैद्य पक्षका कार्यकर्ताले ठिक्क पारेका मसाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यस क्रममा प्रहरीले आफ्ना कार्यकर्ताहरुमाथि धरपकड, दमन र लाठीचार्ज गरेको र विरोध गर्न पाउने प्रजातान्त्रिक अभ्यासमाथि अंकुश लगाउने प्रयास गरेको बैद्य पक्षीय नेता देव गुरुङले बीबीसीलाई बताए ।

उनले भने, “हाम्रा साथीहरुले गरेका विरोध प्रदर्शनमा प्रहरीले दमन र हस्तक्षेप गरेको छ, जुन विरोध गर्न पाउने प्रजातान्त्रिक अधिकारको विरुद्धमा छ ।”

प्रहरीले मसाल खोसेपछि बैद्य पक्षीय माओवादी नेता रामबहादुर थापाको नेतृत्वमा जुलुस निकालिएको थियो ।

जुलुसमा सहभागी वैद्य पक्षीय नेताहरुले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध चर्का र आपत्तीजनक नारा लगाएका थिए ।

आरोप

विशेष समितिको मंगलबारको निर्णयलाई बैद्य पक्षले आत्मसमर्पणवादको पराकाष्ठा भएको आरोप समेत लगाएको छ।

उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापाले संयुक्त विज्ञप्ति निकाल्दै हतियार र लडाकु नेपाली सेनाको जिम्मा लगाउने निर्णय बिरुद्ध एक हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

यस अघि गत चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा माओवादीको प्रचण्ड र बैद्य पक्षले दुई छुट्टा छुट्टै कार्यक्रम गरेका थिए र त्यसै दिन बैद्य पक्षका कार्यकर्ताले प्रचण्ड एवं भट्टराईको पुत्ला जलाएका थिए।

बैद्य पक्षले विशेष समितिको निर्णयको विरोध गरेपनि माओवादी लडाकु रहेका शिविर, माओवादी लडाकु र हतियार नेपाली सेनाले नियन्त्रणमा लिइसकेको छ।