लडाकू समायोजनबारे नयाँ सातबुँदे सहमति

  • 14 एप्रिल 2012
विशेष समिति, नयाँ सातबुँदे तस्वीर कपीराइट bbc
Image caption विशेष समितिले लडाकु समायोजनबारे नयाँ सातबुँदे गरेको छ

माओवादी लडाकू समायोजनमा बाँकी रहेका प्राविधिक विषयहरु टुंग्याउन विशेष समितिमा शनिबार नयाँ सातबुँदे सहमति गरिएको छ।

सहमतिमा महानिर्देशनालयको संरचना, छनौट समिति, तालीम अवधि लगायतका विषयमा स्पष्ट खाका रहेको बताइएको छ।

गत मंगलबार अकस्मात गरिएको माओवादी लडाकू र हतियार सेनालाई बुझाउने निर्णयपछि शनिबार बाँकी रहेका विषय टुंग्याउन शीर्ष नेताहरुको बैठक बसेको थियो।

शीर्ष नेताहरुले दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सेना समायोजन विशेष समिति अन्तर्गत बनेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेका थिए।

नयाँ सातबुँदे

साँझ विशेष समिति बैठक बसेर नयाँ सातबुँदे गरिएको थियो।

सातबुँदेका मुख्य बुँदाबारे विशेष समिति सदस्य भीम रावलले भने, "महानिर्देशनालयको अन्तिम नेतृत्व समायोजनमा जाने संख्या निश्चित भइसकेपछि निश्चित गर्ने, महानिर्देशनालय अन्तर्गत चारवटा निर्देशनालय, अधिकृतस्त र अन्यका लागि दुइटा छनौट समिति र ब्रीजीङ कोर्स सबैले तीन तीन महिना हुने निर्णय गरिएको छ।"

आफ्नै पार्टीभित्रको ठूलो विरोधबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा अगाडि बढाइएको भनिएको सेना समायोजन प्रक्रिया यसअघि विपक्षी दलहरुले भन्दै आए झैं सातबुँदे सहमति र सेनाको नियम अनुसार नै हुने बताइएको छ।

सन्तुलित

विशेष समिति सदस्य तथा कांग्रेस नेता डा रामशरण महतले सहमति सन्तुलित रहेको प्रतिक्रियाका दिएका छन्।

पछिल्लो सहमतिले लडाकु शिविरमा समायोजन कुरेर बसिरहेका लडाकुहरुबीच पछिल्लो समयमा उत्पन्न तनाव मत्थर पार्ने दावी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले गरे।

प्रधानमन्त्रीले प्रधानसेनापतिसँग पनि शनिबारै भेटघाट गरेका थिए।

आइतबार मन्त्रीपरिषदको बैठक बसेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताइएको छ।

शनिबारको निर्णयले शान्ति प्रक्रियाको सबैभन्दा पेचिलो विषयलाई निष्कर्षमा पुर्‍याए पनि फिर्ता सम्पत्ति कब्जा, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गर्ने कामहरु बाँकी छन्।