‘विवादित विषयमा सहमति नजिक’

  • 16 एप्रिल 2012
शिर्ष नेताहरुको बैठक
Image caption दुई दिने बैठकले आफुहरुबीचका मतान्तर कम गर्न सहयोग पुराएको नेताहरुले बताएका छन्

आईतबारदेखि छलफलमा ब्यस्त प्रमुख दलका शीर्ष नेताहरुले संविधानका विवादित विषयमा समाधान पहिल्याउन आफूहरु सहमति नजिक पुगेको बताएका छन्।

प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र तराई केन्द्रित दलहरुको मधेशी मोर्चाका नेताहरुको बैठकमा संविधान निर्माणका क्रममा देखिएका मुख्य पाँच विषयमा विस्तृत छलफल भएको थियो।

राजधानी काठमाडौंको दक्षिणी भेगमा रहेको हात्तिबन रिसोर्टमा आईतबार शुरु भएको शीर्ष नेताहरुको बैठकमा मुलुकको संघीय संरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणाली र नागरिकताका सम्बन्धमा विस्तृत छलफल भएको छ।

अडान

दलहरुको आ आफ्नै अडानका कारण कुनै पनि विषयमा अन्तिम सहमति भने हुन सकेन।

माओवादीले पहिचान सहितको संघीयता हुनुपर्ने अडान राख्यो भने काँग्रेस र एमालेले भूगोलका आधारमा संघ निर्माण हुनुपर्ने अडान दोहोराए।

तर ६ देखि ८ वटा सम्म संघहरु निर्माण गर्ने बारेमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन्।

त्यस्तै काँग्रेसले संसदीय ब्यवस्थामा जानुपर्ने पुरानै अडान राख्यो भने माओवादीले जनताबाट निर्वाचित प्रत्यक्ष राष्ट्रपतीय पद्धतिको अडान नछोडेपछि सहमति भएन।

अबका बैठकमा लचिलो भएर प्रस्तुत हुने र सहमति गर्ने विषयमा नेताहरु एक भएको बैठकका एकजना सहभागी एमाले नेता शंकर पोखरेलले बताए।

उनले भने, “दलहरुकाबीचमा सहमति निर्माणको सम्भावना छ भन्ने निष्कर्षकासाथ हामीहरु उठेका छौं, आ आफ्ना अडान त्यागेर अबका बैठकबाट विवाद हल गर्ने सहमति बनेको छ।”

संवैधानिक इजलास

न्यायप्रणाली सम्बन्धी विवाद हल गर्न पनि आफुहरु सहमति नजिक पुगेको नेताहरुले बताए।

बैठकमा सहभागी काँग्रेस नेता अर्जुननरसिंह केसीले भने, “छुट्टै संवैधानिक अदालतको सट्टा सर्वोच्च अदालतभित्रै संवैधानिक मामिला हेर्ने संवैधानिक इजलास बनाउनेबारे करीब करीब कुरा मिल्न लागेको छ ।”

अंगीकृत नागरिकताका सम्बन्धमा महिला र पुरुषका हकमा समान ब्यवस्था गर्ने बारेमा शीर्ष नेताहरुबीच कुरा मिल्न लागेको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए।

उनले भने, “अंगीकृत नागरिकताका सम्बन्धमा महिला र पुरुषका हकमा समान समय अर्थात करीब ८/९ वर्षको समयावधि राख्ने भन्नेमा मोटामोटी सहमति बनेको छ। ”

शीर्षनेताहरु सम्मिलित हात्तिबन बैठकलाई धेरैले सकारात्मक रुपमा हेरेका छन्।

नेताहरुले मंगलबार र बुधबार हुने बैठकहरुबाट सहमतिको दिशामा थप प्रगति हुने आशा व्यक्त गरेका छन् ।