नेपालको ओलिम्पिक सहभागिता-२

  • 20 एप्रिल 2012
तेक्वान्दोका दीपक विष्ट
Image caption दीपक विष्ट छनौट चरण पार गरेर बेइजींग ओलिम्पिक्समा पुगेका थिए

ओलिम्पिकमा खेलाडी संख्या नियन्त्रित गर्न छनोट चरण पार गर्नु पर्ने नियम छ। अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसीले यसका लागि हरेक महादेशको लागि छुट्टा छुट्टै प्रणाली बनाएको छ।

तर नेपाल जस्ता साना मुलुकहरुलाई ओलिम्पिक जस्तो ठुलो प्रतियोगितामा छनोट हुन गाह्रो हुने गरेको छ ।

वाइल्ड कार्ड

त्यसैले आफ्ना कोही पनि सदस्य राष्ट्र विश्वको महान खेल मेलामा पुग्नबाट वञ्चित हुन नपरोस् वा कुनै कारणले नियमित छनोटमा सहभागि हुन नपाएका खेलाडीहरुको लागि भनेर अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसीले वाइल्ड कार्ड प्रणाली लागु गरेको हो।

जस अनुसार आइओसीले हरेक सदस्य राष्ट्रलाई एथलेटिक्स र पौडीबाट दुई दुई खेलाडी नियमित रुपमा सहभागि जनाउने सुविधा दिएको छ।

यसबाहेक थप खेलाडीहरुलाई योग्यता र सम्भावनाको आधारमा वाइल्ड कार्ड वितरण गर्न थालिएको हो।

सन् २००० को २७ औ सिडनी ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागिता जनाए। जसमा शुटिङकी भगवती खत्रीले वाइल्ड कार्ड प्राप्त गरिन्। उनले एसियाली प्रतियोगितामा ओलिम्पिकको वाइल्ड कार्ड दावी गर्न सक्ने एमक्युएस (मिनिमम क्वालिफाइंग स्कोर) गरेपछि वाइल्ड कार्ड भेटेकी थिइन्।

एथलेटिक्समा ज्ञानबहादुर बोहराले ५ हजार मिटर र देवीमाया पनेरुले १०० मिटर दौडिए। पौडीका चित्रबहादुर गुरुङले ५० मिटर फ्री स्टाइलमा रचेको २६।०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान नयाँ थियो। महिला पौडीबाज रुना प्रधानले पनि ५० मिटर फ्री स्टाइल खेलिन्।

नयां इतिहास

सन् २००४ को २८औं‌ एथेन्स ओलिम्पिक्स भने नेपालले नयां इतिहास रच्यो। सो ओलिम्पिकमा पहिलो पटक नेपाली खेलाडीले छनोट चरण पार गरेर ओलिम्पिकमा सहभागीता हुन सकेको थियो र ति थिइन् तेक्वान्दोकी संगिना वैद्यले। बैंककमा सम्पन्न एसियाली छनोट चरणमा काश्य पदक जितेर उनले ओलिम्पिक्सको ढोका खोलेकी थिइन्।

तस्वीर कपीराइट GETTY
Image caption बेइजींग ओलिम्पिक्सको ज्योति सगरमाथा शिखरमा पनि लगिएको थियो

एथेन्समा उनीसंगै थिए एथलेटिक्सका राजेन्द्र भण्डारी र कान्छीमाया कोजु, अनि पौडीबाट नयना शाक्य र एलिस श्रेष्ठ।

शुटिङमा टीकाराम श्रेष्ठसहित नेपाली खेलाडीको सख्या ६ थियो।

संगिना छनोट भएर ओलिम्पिक पुगेकोले त्यति बेला नेपालमा ओलिम्पिक सहभागिताले निकै चर्चा पाएको थियो।

उनलाई ५ ठूला कम्पनीले ब्रान्ड एम्बेसडर बनाएका थिए भने उनी खेल्ने खेलका बेला नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको थियो। सबै नेपालीको आंखा एथेन्स पुगेको थियो। उनको सफलताको लागि नेपालमा पुजा पाठसम्म भएको थियो। तर सहभागी पांचै खेलाडीले कुनै ठुलो नतिजा ल्याउन सकेनन्।

त्यसको चार वर्ष पछी ‌‌‌‌२९ औं बेइजिङ ओलिम्पिक्स २००८ मा दिपक विष्टले संगिना वैद्यको पाइला पछ्याए। उनी पनि छनोट चरण पार गरी बेइजिङ पुगेका हुन्।

उनी ओलिम्पिक्समा छनौट हुने दोस्रो नेपाली बनेसंगै तेक्वान्दो खेलले पनि चर्चाको क्रमलाई जारी राख्यो। ‌

भियतनाममा भएको एसियन ओलम्पिक्स छनोट चरणमा काश्य पदक जित्दै उनले सो सफलता पाएका हुन्। सो खेलमा उनले उत्कृस्ट खेलाडीको पुरस्कार समेत जितेका थिए। तेक्वान्दोसंगै एथलेटिक्स र पौडी बाहेक जुडो र शुटिङ खेल गरी ८ खेलाडीको प्रतिनिधित्व बेइजिङमा रह्यो।

एथलेटिक्समा, अर्जुन वस्नेत म्याराथनमा र चन्द्रकला थापा १०० मिटर दौडमा सहभागी बने। पौडीमा करिश्मा कार्की र प्रसिद्धजंग शाह, जुडोमा देबु थापा र शुटिङमा फुलमाया काप्छाकी सहभागी थिए।

सगरमाथा

छिमेकी राष्ट्रमा भएको यो ओलिम्पिक्सको ज्योति विश्वभर घुमाउँदा भएको अवरोधका क्रममा तिब्बतको विवादीत मुद्दा उठानुका साथै प्रतियोगिताको सफलतामै धक्का लाग्ने संकेत देखिएकोले ओलिम्पिक टर्च नेपालमा भने ल्याइएन, बरु चिनले आफनै सुरक्षा बलको सहयोगमा ओलिम्पिक्स ज्योतिलाई विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएको थियो ।

लन्डन ओलम्पिक्समा चाहिं नेपाली तेक्वान्दो खेलाडीहरुले इतिहासलाई निरन्तरता दिन सकेका छैनन्। चार तेक्वान्दो खेलाडीहरु यस प्रतियोगिताको छनोट चरणमा नै पराजीत भइसकेका छन्। एथलेटिक्स र पौडी बाहेक अब आशा वाइल्ड कार्डमा मात्र छ।