कांग्रेस एमालेको थोरै प्रदेश बनाउने प्रस्ताव

  • 27 एप्रिल 2012
Image caption संविधानमा रहेका विवाद मिलाउन संविधानसभाले दिएको समय समाप्त हुँदैछ

नेपाली कांग्रेसले सात प्रदेश हुनुपर्ने प्रस्ताव शुक्रबार गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहिबार ११ प्रदेशको संघीय संरचना बनाउने प्रस्ताव गरेका थिए।

अर्को ठूलो दल नेकपा एमालेले बढीमा ८ प्रदेशको अवधारणा आउने बताएको छ।

माओवादी अध्यक्ष प्रचण्डले ११ प्रदेश प्रस्ताव गरेपछि कांग्रेस एमालेले त्यसको विरोधमा प्रतिक्रिया दिएका थिए।

आन्तरिक छलफल

कांग्रेस र एमाले शुक्रबार दिनभर आन्तरिक छलफलमा व्यस्त थिए।

छलफलपछि कांग्रेसले भौगोलिक रुपमा सीमांकन सहित सात प्रदेश प्रस्ताव गरेको छ, तर तिनको नाम दिएको छैन।

कांग्रेस नेता डा मिनेन्द्र रिजालले भने, "यो गंभीर विषय भएकाले मस्यौदामा नभै संविधान जारी हुनेबेलासम्ममा सहमतिमा पुग्ने व्यवस्था गर्न सकिन्छ।"

एमालेको केन्द्रीय कमीटीको आकस्मिक बैठकमा पनि अधिकांशले सात प्रदेशकै वरिपरि हुनुपर्ने धारणा राखेको एमाले नेता भीम रावलले बताए।

तयार

एघार प्रदेश प्रस्ताव गरेको माओवादी भने कांग्रेस एमालेसँग वार्ताका लागि तयार रहेको नेता पोष्टबहादुर बोगटीले बताए।

सात, आठ, दश, चौध भनेर अनेकथरी संभावनाको कुरा गरिरहेका दलहरुबीच कस्तो स्वरुपमा सहमति हुन्छ भन्ने अन्यौल कायमै छ।