'कांग्रेस बाहेकका पार्टी सहमति नजिक'

  • 28 एप्रिल 2012
प्रमुख पार्टी बैठक
Image caption नयाँ संविधानका विवादित मुद्दा मिलाउन दलहरुले पटक-पटक थपेको म्याद आइतवार सकिँदैछ

नयाँ संविधानका विवादित मुद्दा मिलाउन भइरहेका श्रृँखलाबद्ध छलफलमा गैरकांग्रेस पार्टीहरु सहमति नजिक पुगेको माओवादीका एकजना नेताले जनाएका छन्।

सातवटा प्रदेश हुनुपर्ने अडानमा पुनर्विचार गर्न एमाले तयार भएपछि त्यस्तो स्थिति बनेको माओवादी नेता देव गुरुङ्को भनाइ छ।

निष्कर्षविहीन बनेको शनिवारको बैठकपछि उनले भने, "एमालेका साथीहरुले लचिलो बनेर सोंच्न सक्ने सकारात्मक कुरा गर्नु भएको छ। तर कांग्रेसले समय मागेकाले आइतवार फेरि बस्ने कुरा भएको छ।"

कारण

माओवादीले बिहिवारको बैठकमा १० वटा प्रदेशको प्रस्ताव पेश गरेपछि नेपाली कांग्रेसले शुक्रवार सातवटा प्रदेशको खाका प्रस्तुत गरेको थियो।

सातभन्दा धेरै प्रदेश उपयुक्त नहुने निर्णय गरेको एमाले त्यसमा लचिलो हुन तयार भएको उक्त दलका नेता भीम रावलले पुष्टी गरे।

प्रदेश विभाजनप्रतिको असन्तुष्टीले उत्पन्न गराउने सम्भावित अस्थिरतालाई ख्याल गर्दै सहमतिको विन्दू खोज्न आफूहरु तयार भएको

उनको भनाइ छ।

रावलले भने, "सातदेखि १२ वटा प्रदेशबीच सहमतिको विन्द‍ू खोज्न हामी सहमत भएका छौं।"

गैर-कांग्रेस

माओवादी नेता गुरुङ्को बुझाइमा चरम विवादका दुवै मुद्दामा गैर-कांग्रेस दलहरु नजिक देखिएका छन्।

उनी भन्छन्, "राज्य पुनर्संरचना र शासकीय स्वरुप दुवैमा माओवादी, एमाले र मधेसी मोर्चा सैद्धान्तिक रुपमा सहमति नजिक पुगेका छौं।"

निर्वाचन प्रणाली र न्यायपालिकाबारे चारै शक्तिबीच अनौपचारीक सहमति भइसकेको बताइएको छ।

बाँकी विषयमा कुरा मिलेपछि सबै सहमति प्याकेजमै सार्वजनिक गर्ने दलहरुको भनाइ छ।