'बैद्य सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा'

  • 29 एप्रिल 2012
माओवादी उपाध्यक्षद्वय
Image caption माओवादी उपाध्यक्ष वैद्य पक्ष भट्टराई नेतृत्वको सरकार ढाल्न जुनसुकै कदम उठाउन तयार देखन्छ

सत्तारुढ एकिकृत नेकपा माओवादीभित्रको असन्तुष्ट पक्षका एकजना वरिष्ठ नेताले सरकार ढाल्न अविश्वास प्रस्ताव दर्ता गरिए त्यसको पक्षमा भोट हाल्ने घोषणा गरेका छन्।

विपक्षि दलले अविश्वास प्रस्तावबारे छलफल थालेको बताइँदै गर्दा माओवादी सचिव सीपी गजुरेलले उक्त कुरा बताएका हुन्।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा उनले भने, "प्रधानमन्त्री हटाउन कांग्रेस-एमालेले अविश्वास प्रस्ताव ल्याउँदा पनि प्रधानमन्त्री त्यसको सामना गर्न तयार भएमा हामीले प्रस्तावको पक्षमा भोट हाल्छौं।"

नयाँ मुद्दा

केहि दिनयता श्रृँखलाबद्ध रुपमा चलिरहेका प्रमुख दलको शीर्ष बैठकमा संविधान लेखनका विवाद मिलाउने उपाएको खोजि भइरहेको थियो।

तर आइतवारको बैठकमा राष्ट्रिय सरकार गठनको नयाँ मुद्दाले प्रवेश पाएको छ।

बैठकमा सहभागि एमाले नेता भीम रावलले भने, "आपसी अविश्वास हटाउँदै नयाँ संविधानका विवाद मिलाउन सबैभन्दा पहिले राष्ट्रिय सरकार गठनको कुरा अघि बढ्नु पर्‍यो भन्ने कुरा भयो।"

प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी मोर्चासँगको गठबन्धन बलियो बनाउँदै सरकारको आयु लम्ब्याउन खोजेको भन्दै कांग्रेस-एमाले केही दिन यता सशंकित बनेका छन्।

खबरहरुमा त उनीहरुले अविश्वास प्रस्तावको विकल्पबारे समेत छलफल थालेको बताइएको थियो।

त्यस्तो स्थितिमा बैद्य समूह उनीहरुको निम्ति निकै ठूलो भरोसा बन्न सक्छ।

प्रश्न

तर बैद्य समूहले प्रश्नको सामना गर्नु पर्ने छ, आफ्नै पार्टी उपाध्यक्षको नेतृत्वको सरकार ढाल्न विपक्षि पार्टीसँग घाँटी जोड्न पुग्नु राजनीतिक हुन्छ?

त्यो सम्भावित परिस्थितिलाई सचिव गजुरेलले फरक ढंगले व्याख्या गर्दै भने, "विपक्षिलाई साथ दिएको हुँदैन, त्यो त राष्ट्रिय सरकार गठनको बाटो खोल्ने कुरा पो हो, नत्र त त्यस्तो सरकार बन्दै नबन्ने भयो त।"

यद्यपी उनको विश्वास छ, अविश्वास प्रस्ताव दर्ता भइहाल्यो भने प्रधानमन्त्री भट्टराईले राजिनामा दिने छन्, सामना गर्न सक्ने छैनन्।

दलहरुबीच कार्तिक १५ गते भएको सात बुँदे सहमतिमा राष्ट्रिय सरकार बनाउने उल्लेख छ।

तर शान्ति प्रकृया निर्णायक चरणमा पुगेको लामो समयपछि त्यो विषय छलफलको नयाँ मुद्दाको रुपमा उठाउनुलाई सरकार फेर्ने खेलको शुरुवातको रुपमा हेरिएको छ।