संविधानबारे सहमित जुटाउने प्रयास फेरि विफल

  • 8 मे 2012
शीर्ष नेताहरुको बैठक
Image caption दलहरूले बुधवार फेरि बैठक बस्ने र सहमति खोज्ने प्रयास गरिने बताएका छन्

संविधानका विवादित विषयहरुमा सहमति जुटाउन भन्दै अन्तिम पटक समय थप गरेका प्रमुख दलहरु सहमति जुटाउन मंगलबार पनि विफल भएका छन्।

प्रमुख दलका शीर्ष नेताहरुले बैठक लम्बाएर भएपनि सहमति जुटाउने प्रयासमा आफूहरू लागेको बताएका थिए।

तर सो वैठक फेरि बुधवार बस्ने गरी विना कुनै निश्कर्ष टुंगिएको छ।

सरकार निर्माण र संविधानका विवादित विषयमा छलफल गर्न प्रमुख तीन दल र तराई केन्द्रित दलहरुको मधेशी मोर्चाबीच मंगलबार बिहान एमाले कार्यालय बल्खुमा छलफल भएको थियो भने बेलुका शुरु भएको दलहरुको बैठक बुधवार फेरि बस्ने र सहमति खोज्ने निष्कर्षका साथ टुंगिएको छ।

बुधवार बस्ने बैठकबारे एमाले नेता भीम रावलले भने, “सहमति कायम गर्ने प्रयास भएपनि दलहरुबीच त्यो सम्भावना देखिएन र बुधवार १० बजे बैठक बस्ने गरी बैठक टुंगिएको छ।”

'सहमति नजिकै'

बैठकहरुमा संघीयताको विषयमा वृहत छलफल भएको र अघिल्ला बैठकभन्दा यस विषयमा सहमति नजिकै पुगिएको नेताहरुको भनाइ छ।

तर बैठकमा सहभागी नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले एकीकृत नेकपा माओवादी एकल जातीय प्रदेशको अडानबाट पछि नहटे मतदान प्रक्रियामा जान र त्यसबाट आउने परिणाम भोग्न आफूहरु तयार हुने बताए ।

उनले भने, “सहमतिका लागि सातबाट आठ प्रदेशमा जान सकिन्छ तर माओवादीले एकल जातीय प्रदेशको अडान नछोडे, काँग्रेस मतदान प्रक्रियामा जान र त्यसबाट आउने परिणाम भोग्न तयार छ।”

राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार बाँडफाँट गरेर शासकीय स्वरुपमा कुरा मिलाउन प्रमुख तीन दल र मधेशी मोर्चा केही नरम भएको नेताहरुहको भनाइ छ।

उनीहरू भन्छन्, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा सहमति जुट्ने आशा पलाएको छ।

बुधवारदेखि संविधानसभामा मतदानको प्रक्रियाबाट संविधानका विवादित विषय टुङगाउने कार्यतालिका भएपनि दलहरुको व्यवहार हेर्दा त्यो कार्य तालिका फेरि परिवर्तन हुने सम्भावना पनि उत्तिकै देखिन्छ।