संविधान बारेका विवाद सुल्झाउन फेरि समय थप

  • 7 मे 2012
संविधानसभा
Image caption संविधान बारेका विवादमा सहमति नजुटे ती मतदानको प्रक्रियामा जान्छन्

प्रमुख दलहरुबीच राज्य पुनर्संरचनाका विषयमा मंगलबारसम्ममा सहमति जुटे संविधान निर्माणका बाँकी विवादहरु समाधान हुने आशा विवाद समाधान गर्न गठित उपसमितिका केही सदस्यहरुले व्यक्त गरेका छन्।

शासकीय स्वरुपका विषयमा प्रमुख दलहरु सहमति नजिक पुगिसकेको बताइन्छ।

विवाद समाधान गर्न पटक पटक म्याद थप्दै आएका दलहरुबीच मंगलबार साँझसम्म सहमति नजुटे ती विवादित विषयहरुलाई संविधानसभामा मतदानको प्रक्रियाबाट टुंगाउने दलहरुको योजना छ।

जेठ १४ गते आउन अब तीन हप्ता पनि बाँकी छैन।

तीन दिन भित्र सहमति जुटाउन विफल भएपछि सोमबार बसेको विवाद समाधान उपसमितिको बैठकले पनि सुखद समाचार दिएन।

समय थप

बरु सहमतिको निम्ति फेरि दुई दिन माग्ने निर्णय सो बैठकले गर्‍यो।

उपसमितिका संयोजक समेत रहेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मंगलबार साँझ सम्ममा सहमति जुटाउन गरेको प्रस्तावलाई बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधिहरुले समर्थन गरेको बताइएको छ।

उपसमितिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रतिनिधि लक्ष्मणलाल कर्णका अनुसार राज्य पुनर्संरचनाका विषयमा प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति जुट्यो भने संविधान निर्माणबारेका बाँकी विवादहरु सजिलै टुंगिन सक्छन्।

“संघीय प्रदेशहरुको संख्याबारे विभिन्न प्रस्तावहरु आएका छन्, त्यस विषयमा दलहरुबीच सहमति भयो भने राज्य पुनर्संरचनाको विवाद समाधान हुन्छ।”

प्रमुख राजनीतिक दलहरुबीच शासकीय स्वरुप र राज्य पुनर्संरचना लगायत सय भन्दा वढी विषयहरुमा सहमति जुट्न बाँकी छ।

‘आशावादी’

उपसमितिको बैठकका अर्का सहभागी राष्ट्रिय जनशक्ति पार्टीका नेता प्रकाशचन्द्र लोहनीले संविधान निर्माण गर्ने समय गुज्रिंदै गएपनि आशावादी हुनुको विकल्प नभएको बताए।

“अहिलेको अवस्थामा आशावादी हुनुको विकल्प म देख्दिन, तर म होसियारीपुर्वक सावधान छु।”

पछिल्लो समयमा राज्य पुनर्संरचना बारेको विवाद झनै संवेदनशील बन्दै गएकोले त्यसको समाधान तत्कालै हुन नसक्ने चिन्ता धेरैको छ।

प्रमुख चार राजनीतिक शक्तिबीच गत साता भएको पाँच बुँदे सहमतिमा संविधानका विवादित विषयमा समझदारी नजुटे ती संविधानसभामा निर्वाचनको प्रक्रियामा जाने उल्लेख थियो।

त्यसैले सहमतिको लागि अन्तिम भनिएको नयाँ म्याद भित्र विवादहरु हल नभए ती मतदानको प्रक्रियामा जाने देखिन्छ।