'प्रचण्डको राजीनामा पार्टी एकताको शर्त'

  • 31 मे 2012
सीपी गजुरेल तस्वीर कपीराइट sharad kc
Image caption वैद्य पक्षले अध्यक्ष प्रचण्डको राजीनामाको शर्त अघि सारेको छ

माओवादीको असन्तुष्ट मोहन वैद्य पक्षको बिहीबार बसेको बैठकले पार्टी एक रहन संभव नभएको निष्कर्ष निकालेको छ।

पार्टी नेतृत्वको कार्यदिशा असफल भएको भन्दै सो समूहले अध्यक्ष प्रचण्डको राजीनामालाई पार्टी एकताको शर्त बनाएको छ।

वैद्य पक्षीय नेताहरुले दिएको अभिव्यक्तिलाई संकेत मान्ने हो भने माओवादी पार्टी अब औपचारिकरुपमा फुटको संघारमा पुगेको छ।

बिहीबार बसेको बैद्य पक्ष बैठकले पार्टी अध्यक्ष प्रचण्डको राजिनामा न्यूनतम शर्तको रुपमा अघि सारेको छ।

वैद्य पक्षीय सचिव सीपी गजुरेलले भने, “अध्यक्षले अनिवार्य रुपमा राजीनामा दिनु पर्छ र विगतमा गरेको गम्भीर गल्तीको सार्वजनिक रुपमा क्षमायाचना गर्नु पर्छ, त्यसो भए मात्र पार्टी एकताको आधार तयार हुन्छ, नत्र पार्टी एक रहन सक्दैन।”

'राम राम'

तर प्रचण्ड पक्षीय नेताहरु अध्यक्षले कुनै हालतमा राजीनामा नदिने बताउंछन्।

शुक्रबार बस्ने पार्टी स्थायी समितको बैठकले वैद्य पक्षका गतिविधिबारे कस्तो रणनीति अपनाउने भन्ने निर्णय लिन सक्ने पार्टी प्रवक्ता दिनानाथ शर्माले बताए।

शर्माले भने, “अध्यक्षले राजीनामा दिनु हुन्न, उहाँहरु नै पार्टी फुटाएर जानु हुन्छ भने के गर्ने? भीरबाट खस्ने गोरुलाई राम-राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न।”

अध्यक्षले राजीनामा दिने कुरामा त वैद्य पक्षका नेताहरु पनि आशावादी छैनन्।

त्यही भएर उनीहरुले आफु पक्षधर नेता कार्यकर्ताहरुको अर्को हप्ता राष्ट्रिय भेला गरी पार्टी औपाचरिकरुपमा फुटाउने तयारीमा जुटेको कतिपयको बुझाइ छ।