प्रधानमन्त्रीद्वारा विपक्षी दलसँग परामर्श

  • 1 जुन 2012
तस्वीर कपीराइट BBC Jitendra Raut
Image caption संविधानसभा भंग भएपछि पहिलोपटक प्रधानमन्त्रीले विपक्षी नेताहरुसँग भेटवार्ता गरेका छन्

यसै साता संविधानसभा भंग भएपछि कामचलाउमा परिवर्तित भएका प्रधानमन्त्री बाबुराम भट्टराईले उनको दल एकीकृत माओवादीको निर्देशनमा प्रमुख विपक्षी नेताहरुसँग भेटवार्ता थालेका छन्।

प्रधानमन्त्रीले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवासमा झण्डै एक घन्टा परामर्श गरेका थिए।

करीब एकघन्टा दुईजनामात्र बसेर गरिएको कुराकानीपछि सभापति कोइरालाले सन्चारकर्मीहरुलाई दिएको प्रतिक्रियाले माओवादी प्रति कांग्रेसको आक्रोश प्रष्ट झल्किन्थ्यो।

धोका

कोइरालाले भने, “माओवादीबाट सँधै धोका सिवाय केहि भएन, उसले विधान मिच्यो, नियम मिच्यो।”

संविधानसभा भंग भएको पाँचौ दिन बिहीबार साँझ प्रधानमन्त्रीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेका थिए।

शुक्रबारै कांग्रेस, एमाले लगायतका कैयौं दलबीच सम्पन्न बैठकले वर्तमान सरकार विरुद्ध विभिन्न विरोध कार्यक्रम तय गरेको छ।

राजीनामा

एमाले मुख्यालय बल्खुमा भएको दलहरुको बैठकपछि एमाले अध्यक्ष खनालले भने, "प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार्दै सबैलाई वार्तामा आउन आह्वान गर्नुपर्छ र बालुवाटार छोड्नुपर्छ।"

प्रधानमन्त्रीले पार्टीको निर्देशनमा प्रमुख दलहरुबीच चिसिएको सम्बन्ध सुधार्ने प्रयत्न शुरु गरेको उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए।

उनले भने, "परिस्थिति जे भएपनि विकल्प नभएर निर्वाचन घोषणा गरिएको हो, अब सबै मिलेर निर्वाचन गर्ने वातावरण बनाउन सहयोग गर्नुपर्‍यो भनेर प्रधानमन्त्रीबाट पार्टीको निर्देशनमा दलहरुसँग परामर्श थालिएको हो।"

रातदिन सहमतिको सरकार भए सबै समस्याको समाधान हुन्छ भन्दै आएका दलहरुले संविधानसभाको अन्तिम समयतिर सहमतिको सरकार बनाएका पनि थिए।

तर उनीहरु संविधान लेखनको काम पुरा गर्न विफल भए।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, एउटा राजनीतिक पक्ष स्पष्ट रुपमा हावी नभएसम्म दुइ धु्बमा विभाजित वर्तमान राजनीतिक अन्यौल समाप्त हुन मुश्किल छ।