चुनावी जटिलताबारे राष्ट्रपतिको चासो

  • 13 जुन 2012
राष्ट्रपति निवास
Image caption सबैको सहमतिबाट अघि नबढी उपाय छैन भन्ने धारणा राष्ट्रपतिले राखेका थिए

विपक्षीहरुले चुनौती दिएको आउँदो मंसिर सात गतेका लागि घोषित संविधानसभाको चुनावका संवैधानिक एवं कानूनी जटिलता हल गर्न आफूले निर्वाह गर्नु पर्ने भूमिकाका विषयमा राष्ट्रपति रामवरण यादवले निर्वाचन आयोगसँग विशेष परामर्श गरेका छन्।

निर्वाचन आयुक्तहरुलाई आफ्नै निवासमा बोलाएर राष्ट्रपतिले चुनावी जटिलता फुकाउन आफूले लिनु पर्ने निर्णयबारे जानकारी गराउन आयोगलाई आग्रह समेत गरेका छन्।

आउँदो चुनावका बारेमा राष्ट्रपतिले पूर्व निर्वाचन आयुक्तहरुसँग पनि बुधवारै परामर्श गरेका छन्।

वर्तमान र पूर्व निर्वाचन आयुक्तहरुसँगको भेटबाट चौतर्फी विवादको घेरामा परेको अर्को संविधानसभाको चुनावको बारेमा राष्ट्रपतिले केही कदम चाल्न सक्ने संकेतका रुपमा पनि हेरिएको छ।

अन्तरिम संविधान र निर्वाचन सम्बन्धि विभिन्न कानूनहरु संशोधन नै नगरि घोषणा गरिएको चुनाव सम्पन्न हुन नसक्ने भनेर चौतर्फी आलोचना भइरहेका बेला राष्ट्रपति यादवले चुनावी जटिलताका सम्बन्धमा पनि औपचारिक परामर्श शुरु गरेका हुन्।

चासो

नेपाली काँग्रेस र नेकपा एमाले लगायतका विपक्षी दलहरुले आलोचना गरिरहेको चुनावी जटिलताका बारेमा राष्ट्रपतिले व्यक्त गरेको चासोबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, “चुनावका लागि विद्यमान संवैधानिक र कानूनी जटिलता फुकाउन मैले के गर्नु पर्ने हो लिखतै रुपमा जानकारी गराए हुन्थ्यो भनेर राष्ट्रपतिले सरोकार राख्नुभयो।”

उप्रेतीका अनुसार संवैधानिक र कानूनी जटिलता हल भएपछि स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउन कस्तो भूमिका निर्वाह गर्नु पर्छ भनेर समेत राष्ट्रपतिले जिज्ञासा राखेका थिए।

निर्वाचन आयुक्तहरुको विचार सुनेपछि राष्ट्रपतिले राष्ट्रिय सहमतिमा मात्र चुनाव हुन सक्ने विचार समेत राखेका बताइएको छ।

त्यसबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उप्रेतीले थपे, “सबैको सहमतिबाट अघि नबढी कुनै उपाय नै छैन भन्ने राष्ट्रपतिको निष्कर्ष देखिन्छ।”

काम चलाउ सरकारले घोषणा गरेको संविधानसभाको अर्को चुनाव, आगामी आर्थिक वर्षको बजेट र सरकारले सिफारिश गर्न सक्ने सम्भावित अध्यादेशहरुको बारेमा परार्शमा व्यस्त राष्ट्रपतिले यी कुनै पनि विषयमा औपचारिक निर्णय लिइ सकेका छैनन्।

तर पछिल्ला दिनमा उनका राय र परामर्शका श्रृंखलालाई चुनाव लगायतका विषयमा राष्ट्रपतिले केही कदम चाल्ने संकेतका रूपमा कतिपयले हेरेका छन्।