विपक्षी र वैद्यलाई प्रचण्डद्वारा सहमतिको अपिल

  • 15 जुन 2012
माओवादी सभा तस्वीर कपीराइट bbc
Image caption संस्थापन पक्ष सभामा ब्यस्त रहेका बेला अर्को पक्षले राष्ट्रिय भेलाको तयारी गरिरहेको थियो

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विपक्षी दल र पार्टीको असन्तुष्ट खेमा दुबैलाई सहमतिमा आउन एकसाथ अपिल गरेका छन्।

संविधानसभाको अवसान लगत्तै विपक्षी गठबन्धन र राप्रपा नेपालले आमसभा आयोजना गरेको काठमाण्डूको खुलामञ्चमा आयोजित सभाबाट उनले त्यस्तो अपिल गरेका हुन्।

प्रचण्डले त्यसका निम्ति जस्तो सुकै त्याग गर्न आफू तयार रहेको घोषणा पनि गरेका छन्।

अनुपस्थिति

कार्यक्रममा माओवादीभित्रको असन्तुष्ट समूह अनुपस्थित थियो।

उनीहरु आफ्नो समूहको राष्ट्रिय भेलाको तयारीमा जुटेका थिए।

उक्त प्रसंगमा प्रचण्डले भने, "यहाँ किरण (मोहन वैद्य) जी र बादल (रामबहादुर थापा) जी पनि संगै भएको भए कति राम्रो हुने थियो, जनतामा कति उत्साह हुने थियो, म उहाँहरुलाई राष्ट्रिय भेलाबाट एकता प्रस्ताव पारित गर्न अपिल गर्न चाहन्छु।"

उनले संविधानसभाको अवसानपछि उत्पन्न राजनीतिक संकट हल गर्न आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतासंग छलफल गर्ने सहमति भएको जनाए।

ती नेताहरुको नामै लिएर उनले भने, "म यहाँबाट पनि सुशील (कोइराला) जी र झलनाथ (खनाल) जी लगायतका सबै नेतालाई अपिल गर्न चाहन्छु, आउनोस नयाँ सहमति गरौं।"

महाभारत

आफ्नो परिचित स्वभाव विपरित जस्तो लाग्ने गरी प्रचण्डले यसअघिका तुलनामा छोटो र संयमित भाषण गरेका थिए।

तर पनि उनी विपक्षी दलहरुलाई चेतावनी दिन चुकेनन्।

सभालाई महाभारतको लडाइ रोक्ने अन्तिम प्रयत्नको संज्ञा दिएका उनले विपक्षीहरु सहमतिको निम्ति तयार नभए कार्यक्रम महाभारतको अन्तिम तयारी हुने चेतावनी दिए।

त्यसो भने पनि भाषणको अन्त्यमा पार्टीभित्रका प्रतिपक्षी र सडक रोजेका विपक्षी गठबन्धन दुबैलाई लक्षित गर्दै उनले भने, "आउनोस्, म राष्ट्रिय सहमति र पार्टी एकताको निम्ति जुनसुकै त्याग गर्न पनि तयार छु।"

सभाका अर्का वक्ता प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षी दलहरुमाथि राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न उक्साइरहेको आरोप लगाएका थिए।

उनले राष्ट्रपति सचेत रहेको भन्दै सन्तोष पनि प्रकट गरेका थिए।

भट्टराईले पार्टी एकताको निम्ति भने प्रधानमन्त्री पद त्याग्न तयार रहेको बताएका थिए।

सैनिक विज्ञप्ती

विपक्षी दल र आफ्नो पार्टीभित्रको असन्तुष्ट समूहसँगै प्रचण्डले नेपाली सेनाले बिहीबार निकालेको विज्ञप्तीबारे पनि बोलेका थिए।

आफू 'वैधानिक सरकारको मातहतमा रहने र उसको वैधानिक निर्देशन मात्र पालना गर्ने' नेपाली सेनाको भनाइ आफूप्रति लक्षित ठान्दै उनले स्पष्टीकरण दिएका थिए।

संचार माध्ययमले आफ्नो भनाइ बंग्याएको आरोप लगाउँदै उनले भने, "हामीले सेना समायोजन गरेको नेपाली सेनालाई विश्वास गरेको प्रमाण हो भन्ने मेरो भनाइको मतलव थियो, तर कुरा बंग्याइयो।"

उनले सेनाको विज्ञप्तीलाई भने स्वाभाविक रुपमा लिएका थिए।