अविलम्व निकास खोज: राष्ट्रपति

  • 17 जुन 2012
Image caption राष्ट्रपतिले राजनीतिक गतिरोधको तत्काल निकास खोज्न आग्रह गरेका छन्

राष्ट्रपति रामबरण यादवले वर्तमान राजनीतिक गतिरोधको निकास तत्काल खोज्न दलहरुसँग आग्रह गरेका छन्।

संविधान सभा समाप्त भएको तीन सातापछि राष्ट्रपतिले आइतबार संविधान सभामा प्रतिनिधित्व गरेका सबै दलका नेताहरुलाई आफ्नो निवासमा उक्त आग्रह गरेका हुन्।

राष्ट्रपतिले उपस्थित नेताहरु समक्ष सातबुँदे सन्देश पढेर सुनाएका थिए।

सातबुँदेमा ‘संविधान सभाको वेवारिसे मरण’ गराएको भन्दै राष्ट्रपतिले राजनीतिक दलहरुको आलोचना गरेका छन्।

राष्ट्रपतिले उनकै शब्दमा संविधान सभाको वेवारिसे अवसानबाट देशलाई लज्जा र अपमान प्राप्त भएकोमा आफु खिन्न रहेको बताएका छन्।

चिन्ता

राष्ट्रपतिले उनकै शब्दमा संविधान सभाको अवसान पछि दल र नागरिक समाज एकठाउँमा उभिएर राजनीतिक निकास तर्फ लाग्नुपर्नेमा स्वार्थप्रेरित गालीगलौजमा उत्रिएको र त्यसले समाजमा नैराश्य फैलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रपतिको सन्देशको अर्थबारे चियापानमा सरिक रहेका र पछि राष्ट्रपतिसँग छुट्टै एकल भेट गरेका एमाले अध्यक्ष झलनाथ खनाल भन्छन्, "अहिलेको सरकार विहिन अवस्थालाई चाँडोभन्दा चाँडो तोड्न र नयाँ सहमतिको सरकार बनाउन राष्ट्रपतिको बढी मात्रामा आग्रह हो।"

संविधान जारी नै गर्न नसकी संविधान सभाको अवसान भएको बारे आफुले आत्मालोचना गर्ने गरेको उल्लेख गर्दै राष्ट्रपतिले संविधान सभाको कार्यकाल रहँदा दलहरु संविधान निर्माणको सहकार्यमा भन्दा सरकार गठन र विघटनामा उन्मुख हुँदा समय खेर गएको धारणा व्यक्त गरेका छन्।

त्यसयता संविधान सभा समाप्त गर्ने दोषीका रुपमा सत्तासीन दलहरु र विपक्षी दलहरुबीच चर्को आरोप प्रत्यारोप चल्दै आएको छ।

त्यसमाथि टिप्पणी गर्दै राष्ट्रपतिले भनेका छन्: स्वार्थ प्रेरित आरोप प्रत्यारोप र हचुवा विश्लेषणले समाजमा तिक्तता र नैराश्य बढाएको छ।

उनले दल विशेषलाई संबोधन नगरीकनै अविलम्ब ठोस पहलको अपेक्षा गरेको बताएका छन्।

निकास

राष्ट्रपतिले राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर राजनीतिक दल र नागरिक समाज एकै मिलनबिन्दूमा रहे वान्छित निकास निकाल्न सकिने बताएका छन्।

संक्रमणकाल लम्बिन जाँदा सुशासन र आर्थिक अनुशासन विग्रेको र राष्ट्रिय श्रोतसाधनको विनास हुँदै गएको राष्ट्रपतिले सन्देशमा औंल्याएका छन्।

राष्ट्रपतिले सातबुँदे सन्देश पढेर सुनाए पछि अरु नेताहरु कसैले नबोली शीतल निवासमा चियापान गरेर कार्यक्रम सकिएको थियो।

यसैबीच विपक्षीहरुले राष्ट्रिय सहमतिको सरकार नबनी कुनै पनि विधेयकको प्रक्रिया अगाडि नबढाउन राष्ट्रपति समक्ष माग गर्दै आएपनि प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट पारित भएका दुइ विधेयक आइतबार साँझ राष्ट्रपतिलाई बुझाएका छन्।

सुपुर्दगी र पारस्परिक कानुनी सहायता सम्बन्धी दुइ विधेयकमाथिको प्रक्रिया भोलीदेखि शुरु हुने राष्ट्रपतिका सल्लाहकारले बताएका छन्।