प्रधानमन्त्रीको उम्मेदवार तोक्न कांग्रेसमा दबाब

  • 26 जुन 2012
नेपाली कांग्रेस तस्वीर कपीराइट nc
Image caption नेपाली कांग्रेसमाथि प्रधानमन्त्री बाबुराम भट्टराईको वैकल्पिक उम्मेदवार दिन दबाब बढ्न थालेको छ।

प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने ढृढता व्यक्त गरेको एक दिन पछि मंगलबार नेपाली कांग्रेस माथि प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिन दबाब बढ्न थालेकोछ।

नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसलाई छिट्टै प्रधानमन्त्रीको उम्मेदवार अघि सार्न सार्वजनिकरुपमै आग्रह गर्न थाले पछि कांग्रेस भित्र पनि सो विषयले महत्व पाउन थालेको कांग्रेस नेताहरु बताउंछन्।

प्रधानमन्त्रीको राजीनामा नदिने सोमबारको अभिव्यक्तिबाट थप चिढिएका विपक्षीहरुले आन्दोलन अझ चर्काउने चेतावनी पनि दिएका छन्।

बीबीसीसंगको अन्तर्वार्तामा मंगलबार कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको केन्द्रिय समितिले उम्मेदवारीबारे निर्णय गर्ने बताए।

उनले आफनो उम्मदेवारीबारे स्पष्टरुपमा केही बताएनन्, तर पार्टीको केन्द्रीय समितिमा प्रस्ताव आएमा आफुले स्वीकार गर्ने संकेत गरे।

विकल्प

झण्डै एक महिनाअघि संविधानसभा विघटनभए यता विपक्षी दलहरूले प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग गर्नुपर्ने माग गर्दै आएका छन्।

तर उनीहरूले बैकल्पिक उमेदवार भने प्रस्तुत गर्न सकेका छैनन्।

बरू यसबीच भट्टराईले अर्को निर्वाचित सरकार नबनेसम्म आफ्नै सरकार कायम रहनेमा जोड दिए।

त्यसबाट झस्किएका विपक्षीहरू अब उनीहरू बीचको छलफल प्रधानमन्त्रीको विकल्प खोज्नमा केन्द्रित रहने बताएका छन्।

नेकपा एमालेका सचिव शंकर पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार छिट्टै अघि सार्नु पर्ने बताए।

दवाव

एमाले सचिव पोखरेलले भने, “कांग्रेसले चांडो वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार अघि सार्दा निकासको प्रकृया सहज हुन्छ, कि त आफनो उम्मेदवार अघि सार्नु पर्यो। त्यसो नभए अरुदलको उम्मेदवारमा सहमति जुटाइ अघि बढ्नका लागि पहल गर्नु पर्छ। ”

कांग्रेस नेताहरुले पनि केन्द्रिय समितिको बैठक डाकी प्रधानमन्त्रीको उम्मेदवार छिट्टै चयन गर्ने बताएका छन्।

कांग्रेस भित्र पार्टी उप सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेर बहादुर देउवा प्रधानमन्त्री पदको दावेदार भए पनि पार्टी सभापति सुशील कोइरालाको नाममा सहमति हुने संभावना व्यक्त गरिंदैछ।

कांग्रेस नेता राम शरण महतले पार्टी सभापतिले इच्छा व्यक्त गरे त्यसको विरोध नहुने बताए।

महतले भने, “कांग्रेस भित्र धेरै उम्मेदवार छन् र पार्टी सभापतिले उम्मेदवार हुन चाहेमा त्यसमा आपत्ती हुनेछैन।”

प्रधानमन्त्री बाबुराम भट्टराईको मनसायप्रति विपक्षीहरु बढ्दोरूपमा सशंकित हुंदै गएका छन्।

तर प्रधानमन्त्रीको राजीनामा अघिनै वैकल्पिक उम्मेदवार तय गर्दा त्यस्तो निर्णयबाट रूष्ट भएकाहरूलाई उक्साएर माओवादीले त्यसैमा राजनीति गर्न सक्ने कांग्रेस नेताहरुको आशंका पनि छ।

तर अन्य दलहरुको दबाब बढ्दै जांदा कांग्रेसले चांडै नै प्रधानमन्त्रीको उम्मेदवारबारे निर्णय गर्नुको विकल्प देखिंदैन।