कांग्रेसको सहमतिको प्रस्ताव मोर्चाद्वारा अस्वीकार

  • 29 जुन 2012
प्रधानमन्त्री बाबुराम भट्टराई तस्वीर कपीराइट BBC Jitendra Raut
Image caption विपक्षी दलहरुले राजीनामा गर्न प्रधानमन्त्री भट्टराईमाथि दबाब बढाइरहेका छन्

सहमतीय सरकार निर्माणको लागि प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामाको माग गरिरहेको कांग्रेसका सभापति सुशील कोइरालाले बिहीबार र शुक्रबार मोर्चाका दुई घटकका नेताहरुसंग छलफल गरेका छन्।

तर मोर्चाका नेताहरुले संघीयता र संविधानका विषयमा समझदारी नभएसम्म वर्तमान सरकार परिवर्तन गरेर सहमतिको सरकार बन्न नसक्ने बताए।

राष्ट्रिय सहमतिको सरकार गठनको माग गरिरहेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शुक्रबार मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष एवं मन्त्री राजेन्द्र महतोलाई भेटेर सहमतिको आधारमा अघि बढ्न आग्रह गरेको बताइएको छ।

तर महतोले संघीयता सहितको संविधानको सुनिश्चितता मोर्चाको प्राथमिकता रहेको कुरा आफुले कोइराला समक्ष राखेको भेटपछि संवाददाताहरुलाई बताए।

‘संविधानमा सहमति’

महतोले भने, “पहिला पनि सहमतिहरु भए तर खोई संविधान बनेन, सरकारको लागि मात्र होइन संविधानको लागि पनि सहमति हुनु पर्छ।”

राजनीतिक सहमति जुटाउन भन्दै कांग्रेस सभापति कोइरालाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए।

त्यस भेटमा पनि मोर्चाको अडान स्पष्ट रुपमा राखिएको सो दलका उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए।

उनले भने, “संघीयता सहितको संविधानमा सहमति भएपछि मात्र कांग्रेस, एमालेलाई पत्याउन सकिन्छ।”

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीका अनुसार चार प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति खोज्ने सिलसिलामा सभापति कोइरालाले राजनीतिक सहमतिको निम्ति ताजा प्रयास थालेका हुन्।

अन्यौल

संविधानसभाको अवसानपछि देखिएको राजनीतिक ध्रुविकरणका माझ कांग्रेसले नेकपा एमाले र अन्य दलहरुसंग मिलेर ‘संयुक्त लोकतान्त्रिक अभियान’ नाम दिइएको सरकार विरोधी मोर्चा तयार गरिसकेको छ।

तर विपक्षीहरुको विरोध चर्किरहेपनि प्रधानमन्त्री सत्ता छोड्न तयार देखिएका छैनन्।

त्यस्तो परिस्थितिले लम्बिदो र गहिरिंदो राजनैतिक र संवैधानिक संकटको तत्काल निकासको कुनै भरपर्दो संकेत दिएको छैन।