पूर्ण बजेट नल्याउने सहमति

  • 10 जुलाई 2012
Image caption प्रमुख शक्तिहरुबीच पूर्ण बजेट नल्याउने सहमती भएको छ

नयाँ आर्थिक वर्षको बजेट र अन्य राजनीतिक विषयहरुमा सहमति जुटाउन मंगलबार बसेको सर्वदलीय बैठकले पूर्ण बजेट नल्याउने सहमति गरेको छ।

चार प्रमुख राजनीतिक शक्तिहरु र नवगठित माओवादी समेत सहभागी उक्त बैठकमा बजेट, संविधानसभा पुनर्स्थापना वा निर्वाचन, सहमतीय सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बताइएको छ।

मंगलबारको सहमतीले विश्वासको वातावरण सृजना गरेको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले बीबीसीलाई बताए।

आर्थिक अन्त्य हुन अब केही दिन मात्र बाँकी छ।

अन्योल

तर अहिलेसम्म कस्तो प्रकारको बजेट आउने भन्ने अन्योल सर्वसाधारणमाझ मात्र होइन बजेट बनाउने अर्थ मन्त्रालयका अधिकारीहरु माझ पनि कायमै छ।

सरकारले अहिलेसम्म पूर्ण बजेट ल्याउने भनीरहे पनि, विपक्षीहरुले भने बजेटका लागि सहमति जुटाउन पहल गर्न ढिलो भएको बताएका छन्।

सर्वदलीय बैठक सकिनु अघिनै बाहिर निस्किएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनेपछि मात्र अन्य विषयमा सहमति हुने बताए।

“सहमतीको सरकार सबभन्दा पहिले बन्नु पर्छ अनि बल्ल तयसले सबै अरू रिक्ततालाई पुर्ति गर्छ।”

बैठकमा सहभागी स्वास्थ्यमन्त्रि राजेन्द्र महतोले संविधानको विषयमा सहमति जुटेमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने यसअघि दलहरुबिच भइसकेको पाँच बुदे सहमती तत्काल लागु हुन सक्ने बताएका छन्।

महतोले, “सबै विषयमा सामान्य छलफल भएको हो, सरकारको विषयमा यसअघिनै सहमती भइसकेको छ, संविधानको विषयमा सहमती जुटे सरकारबारे भएको सहमति लागु भै हाल्छ।”

बहिष्कार

मंगलबार सबेरै प्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएका सर्वदलीय बैठक विपक्षी दलहरुले बहिष्कार गरेका थिए।

त्यसपछि सत्ताधारी दलहरुले एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई सहमती जुटाउने जिम्मा दिएका थिए।

यसअघि सोमबार नेपाली कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले १० दिनभित्र सहमती जुट्ने आशा व्यक्त गरेका थिए।