सरकारको कार्यशैलीप्रति प्रचण्डको ‘असन्तुष्टि’

  • 12 जुलाई 2012
प्रधानमन्त्री भट्टराई तस्वीर कपीराइट BBC Jitendra Raut
Image caption प्रचण्डले सरकारप्रति असन्तुष्टि जनाएको बताइएको छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले केन्द्रिय समिति बैठकमा पेश गरेको प्रतिवेदनमा उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको बताइएको छ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको कार्यशैलीको आलोचना गरेको बताइएको छ।

उनको प्रतिवेदनबारे केन्द्रिय सदस्यहरुले शुक्रबारदेखि छलफल गर्ने कार्यक्रम छ।

पार्टी फुटेपछि पहिलो पटक डाकिएको केन्द्रिय समिति बैठकले अर्को हप्ता शुरु हुने विस्तारित बैठकको एजेण्डा तयार गर्ने छ।

पार्टी फुट्नु अघि भएको केन्द्रिय समिति बैठकमा पनि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यशैलीको आलोचना गरेका थिए।

'धोका'

भट्टराईसँग मिलेर प्रचण्डले क्रान्तिप्रति धोका दिएको भन्दै नेता मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टीको जन्म भएपछि पनि प्रचण्डले भट्टराईप्रतिको असन्तुष्टि दोहर्‍याएका छन्।

प्रचण्ड निकट एकजना केन्द्रिय सदस्य महेश्वर गहतराजले असन्तुष्टि नै जनाइएको स्वीकार गरेनन्।

तर उनले भने, " कतिपय विषयहरु जो पार्टीमा छलफल भएका छैनन् र पार्टीको अफिसियल लाइन एकातिर हुन्छ, त्यो अवस्थामा अन्तरविरोध पर्न जांदाखेरि जनस्तरमा भ्रम पारेको कुरा त सही नै हो।”

विभिन्न राजनीतिक नियुक्तिदेखि भारतसँगको द्वीपक्षीय लगानी सम्बन्धी विप्पा सम्झौता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको जिम्मा भारतीय कम्पनीलाई दिने चर्चालाई लिएर प्रचण्डले असन्तुष्टि जनाएको बताइएको छ।

तर उनले लोकतान्त्रिक गणतन्त्रका निम्ति संसदवादी दलसँग हात मिलाउने बाटो खुला गरेको माओवादीको बहुचर्चित चुनवाङ बैठकदेखिका घट्नाक्रमको समीक्षा समेत गरेका छन्।

'असन्तुष्टि'

सरकारको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टिलाई उक्त सात वर्षिय यात्राको मूल्याङ्कनको अंशको रुपमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले अर्थ्याए।

उनले भने, "यो यात्रागत एउटा श्रृंखलाकोरुपमा यो सरकारको बारेमा पनि थोरै कुराहरु आएको हो। त्यसरी आलोचना भन्ने कुरा होइन।"

प्रधानमन्त्री भट्टराईसँगको सल्लाहमै प्रचण्डले प्रतिवेदन तयार पारेको पनि उनले बताए।

मोहन वैद्य समूहले विगतमा प्रचण्डमाथि संसदीय अभ्यासमा रमाएर जनविद्रोहप्रति अविश्वास गरेको आरोप लगाउने गरेको थियो।

तर प्रचण्डले प्रतिवेदनमा वैधानिक सत्ता कब्जाको विकल्प खुला राखेको खबरहरु आएका छन्।

केन्द्रिय सदस्य महेश्वर गहतराजले चाँही सहमतिका सबै ढोका बन्द गरिएपछिका लागि मात्रै त्यस्तै विकल्प औंल्याइएको बताए।

काठमाण्डूस्थित हाम्रा एकजना संवाददाता भन्छन्, संविधानसभाबाटै संविधान जारी गर्न भनेरै सरकारले अर्को चुनाव घोषणा गरेको छ।

तर पछिल्ला केही साता यता प्रचण्डपक्षीय नेताहरुले संविधानसभा पुनर्स्थापनामा जोड दिइरहेका छन्।