'तृतीयांश भन्दा ठूलो बजेट आउने'

  • 13 जुलाई 2012
बजेट
Image caption बजेटबारे प्रधानमन्त्री र राष्ट्रपति बीच छलफल भएको थियो

विपक्षी दलहरुको अडान विपरित सरकार एक तृतीयांश भन्दा ठूलो बजेट ल्याउने तयारीमा जुटेको देखिएको छ।

सरकारका एक मन्त्रीले मंसिरको निर्वाचन र सेना समायोजन सम्बन्धी शीर्षकमा रकम छुट्याउंदा बजेटको आकार ठूलो हुन सक्ने संकेत दिए।

विपक्षीहरुले निर्वाचन खर्च छुट्याइएमा विरोध गर्ने बताइ रहदा राष्ट्रपति भने सरकारको तयारीप्रति सकारात्मक रहेको बुझिएको छ।

विपक्षीहरुले विरोध गरेपछि पूर्ण बजेट नल्याउन तयार भएको सरकार एक तृतीयांश अर्थात गत वर्षको बजेटको एक तिहाई बजेटमा मात्र सिमित हुन अनिच्छुक देखिन्छ।

त्यसो गरेमा सरकार आफैले घोषणा गरेको मंसिरको निर्वाचनका लागि रकम छुट्याउन मिल्ने छैन।

'आंशिक'

त्यही भएर सरकारका मन्त्रीहरु बजेटका सन्दर्भमा 'तृतीयांश' भन्दा 'आंशिक' भन्ने शब्द बढी रुचाउँछन्।

सरकारका प्रवक्ता एवं सूचना मन्त्री राजकिशोर यादवले भने,“यो बजेट न तृतीयांश हुन्छ न पूर्ण, दुवै बीचको बाटो निकाल्ने प्रयास हुंदैछ।”

अर्थ मन्त्रालयका सल्लाहकार श्रीराम पौडेलले पनि मन्त्रालयले निर्वाचन र लडाकु समायोजनको निम्ति रकम सहित बजेटको तयारी गरि रहेको पुष्टि गरे।

बिहीबार सांझ भएको राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीचको छलफल पछि राष्ट्रपति पनि सरकारको तयारी प्रति सकारात्मक रहेको बुझिएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले भने,“शान्ति प्रकृया र चुनाव भनेको नयाँ कुरा नै होइन, त्यससैले राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन।”

काठमाण्डूस्थित हाम्रा एकजना संवाददाता भन्छन्, पूर्ण बजेटको अडानबाट सरकार पछाडी हटेपछि विपक्षीसँगको उसको ठूलो टकरावको सम्भावना टरे पनि निर्वाचन खर्च सहित ठूलो आकारको बजेट आएमा द्वीपक्षीय कटुता भने बाँकी नै रहने देखिन्छ।