भ्रष्टाचारसंबन्धी विवादले माओवादी बैठक अवरुद्ध

  • 18 जुलाई 2012
माओवादी
Image caption लडाकुको विरोधपछि एकीकृत माओवादीको विस्तारित बैठक अवरुद्ध

एकीकृत माओवादीको काठमाण्डौमा जारी विस्तारित बैठक लडाकुले माओवादी शिविरमा भएको आर्थिक अनियमितताको छानबिन र सम्मानजनक समायोजनको माग गर्दै बैठकस्थलमा विरोध गरे पछि बिहीबारसम्मको लागि स्थगित भएको छ।

पार्टी विभाजन भएको करीब एक महिनामै माओवादी अध्यक्ष प्रचण्डले अर्को संगठित असन्तुष्टिको सामना गर्नु पर्ने देखिएको छ।

अध्यक्ष प्रचण्डले बिहीबार लडाकुहरुको मागबारे सम्बोधन गर्ने बताइएको छ।

पार्टी फुटेपछिको पहिलो विस्तारित बैठकमा मंगलबार अध्यक्ष प्रचण्ड लगायत अन्य नेताहरुले पार्टी भित्र गुट उपगुटको अन्त्य गर्ने घोषणा गरेका थिए।

तर त्यसको भोलिपल्टै, बुधबार, शिविरमा भएको भनिएको आर्थिक अनियमितताबारे लडाकुहरुले खुला विरोध गरेका थिए।

लडाकुहरुले राखेको मागकाबारे एक पूर्व कमाण्डर महेन्द्र शाहीले भने, “उनीहरुको माग भनेको लडाकुहरुको बारे पार्टीको दस्तावेजमा उल्लेख हुनु पर्यो भन्ने थियो, खाखगरी शिविरमा हरहिसाब पारदरशी नभएको र सम्माजनक सेना समायोजन किन हुन सकेन भन्ने थियो।”

लडाकुहरुले पार्टी नेतृत्वलाई उनीहरुका माग प्रति स्पष्ट धारणा बनाए पछि मात्र विस्तारित बैठक अघि बढाउन दिने बताएका छन्।

छलफल

एकीकृत माओवादीका सचिव पोष्टबहादुर बोगटीले पार्टी भित्र लडाकुको मागबारे गम्भीर छलफल शुरु भएको बताए।

यस अघिनै उठेको पार्टीभित्रको भ्रष्टाचारको मुद्दा पार्टी अन्तरसंघर्षका कारण नियमित बैठकहरु नबस्दा सम्बोधन नभएको उनको तर्क थियो।

बोगटीले भने, “हामीहरु छलफल गर्दैछौं र उनीहरुका प्रतिनिधिहरुसंग बसेर कति अहिले र कति प्रकृयमा गएर पछि पुरा गर्न सकिन्छ भन्ने निश्कर्ष निकाल्छौं।”

लडाकुको दोस्रो माग सम्मानजनक सेना समायोजनलाई सम्बोधन गर्न अहिलेकै समायोजनको प्रकृयाभित्र रहेर अन्य दलहरुसंग छलफल गरिने बोगटीले उल्लेख गरे।

लडाकुहरुको मागले पार्टी सुदृढ गर्न सहयोग पुग्ने पनि उनले बताए।

तर लामो मतभेदबीच भर्खरै भएको विभाजान पछि एकीकृत माओवादी केही कमजोर भएको ठानिएको छ।

फेरि पनि यसरी खुलारुपमा पार्टी पंक्तिबाटै व्यक्त भएको असन्तुष्टि माओवादी नेतृत्वको निम्ति पक्कै पनि चुनौतीको विषय बनेको छ।