नेपाली टोली प्रमुखमा गंगाबहादुर थापा

  • 21 जुलाई 2012
झण्डा हस्तान्तरण
Image caption गंगा बहादुर थापा नेपाली टोलीको प्रमुख नियुक्त भएका छन्

नेपाल ओलिम्पिक कमिटीले बेलायतको लन्डनमा आयोजना हुने ३० औं गृष्मकालिन ओलिम्पिक खेलकुदमा उपाध्यक्ष गंगा बहादुर थापामगरलाई नेपाली टोलीको प्रमुख, सेफ द मिशन नियुक्त गरेको छ।

यस अघि सेफ द मिशनको रुपमा रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको नाम थियो।

तर ओलिम्पिक खेलकुद नजिकिंदै गर्दा राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलिम्पिक कमिटी विच विवाद वढेपछि लामाले ओलिम्पिकमा सहभागि नहुने निर्णय गरेका थिए।

हल्ला

त्यसपछि खाली रहेको सो पदमा ओलिम्पिक कमिटीका अध्यक्ष ध्रुबबहादुर प्रधान नै जाने हल्ला चलेको थियो।

तर ओलिम्पिक कमिटीको शुक्रबार बसेको वैठकले उपाध्यक्ष तथा नेपाल भलिवल संघका पूर्वअध्यक्ष गंगाबहादुर थापामगरलाई नियुक्त गरेको हो।

लन्डन ओलिम्पिकमा नेपालबाट १४ सदस्यीय टोलीलाई मात्र अन्तराष्ट्रिय ओलिम्पिक कमिटीले आधिकारिक रुपमा कोटा दिएको जनाइएको छ।

जस अनुसार सोही टोली भित्र रहेका सदस्यलाई नै सेफ द मिशन बनाउनु पर्दथ्यो। थापामगर ओलिम्पिक टोलीका एक सदस्य हुन्।

मुख्य ब्यक्ति

नेपालमा ओलिम्पिक देखि अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रतियोगितामा संधै सेफ द मिशन को बन्ने बारे विवाद हुने गर्दछ।

टोलीको मुख्य ब्यक्ति भएकाले राष्ट्रिय खेलकुद परिषदले परिषदका सदस्य सचिव नै सेफ द मिशन हुने आफनो नियमावली बनाएको छ।

तर सेफ द मिशनको नियुक्ति ओलिम्पिक कमिटीले गर्ने ओलिम्पिक चार्टरमा उल्लेख भएकाले विवाद बढ्ने गरेको हो।

लामा सेफ द मिशन हुने हल्ला हुंदा सो पद ओलिम्पिक कमिटीले नियुक्ती गर्ने कर्मचारीको पद भएको र त्यसमा सदस्य सचिव जस्तो सरकारी नेतृत्व गर्ने ब्यक्ति जान नहुने कतिपयले तर्क राखेका थिए।