लडाकुलाई स्वेच्छिक अवकासमा पठाउने चेतावनी

  • 22 जुलाई 2012
माओवादी बैठक तस्वीर कपीराइट .
Image caption विस्तारित बैठकमा समायोजनबारेको सहमतिप्रति चर्को असन्तुष्टि प्रकट भएको थियो

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अस्थायी शिविरमा रहेका आफ्ना पूर्वलडाकुको नेपाली सेनामा 'सम्मानजनक समायोजन' नभएमा सबैलाई स्वेच्छिक अवकासमा पठाउने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेका नेताले शान्ति प्रकृयाको भावना नबुझेकाले उनीहरुले समायोजनलाई नयाँ भर्ती जस्तो बनाउन खोजेको उनले आरोप लगाए।

पार्टीको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, "समायोजनलाई सम्मानजनक बनाइएन भने हाम्रा सामु हात-हतियारहरु संग्राहलयमा राख्ने र सबैलाई स्वेच्छिक अवकासमा पठाउनुको विकल्प रहने छैन, त्यो भनेको समायोजन प्रकृयाको असफलता मानिनेछ।"

त्यो निर्णय लिनु अघि कांग्रेस र एमाले नेतृत्वसँग समायोजन प्रकृयामा विवादका मुद्दा बनेका उमेर र शिक्षा लगायतका विषयमा सहमति खोज्न वार्ता गर्ने प्रचण्डले जनाए।

हिंसा

नेपाली सेनामा नयाँ भर्ती जस्तो हुन लागेको भन्दै पूर्वलडाकूहरुले अवरोध खडा गरेपछि करीब तीन हजार लडाकुले रोजेको समायोजन प्रकृया केही सातादेखि रोकिएको छ।

पाँचदिन चलेको विस्तारित बैठकमा पनि कतिपय कार्यकर्ताहरुले अन्य दलसँग आफ्नो पार्टी नेतृत्वले नचाहिंदो सहमति गरेकाले त्यसो भएको आरोप लगाएका थिए।

विस्तारित बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले अन्य दलसँग समायोजनबारे सहमति गर्दा प्राविधिक गल्ती गरेको कुरा स्वीकार गरेका छन्।

तर कांग्रेस र एमालेप्रतिको आफ्नो विश्वासका कारण समस्या देखिएको उल्लेख गर्दै प्रचण्डले भने, "यो माओवादीको मात्रै कुरा होइन, माओवादीलाई कमजोर पार्न सकिन्छ कि भनेर समायोजनमा टाङ अड्काएर शान्ति प्रकृया टुंगिन्न, परिवर्तन संस्थागत हुँदैन, शान्ति प्रकृया सम्मानजनक रुपमा टुंगिएन भने अर्को हिंसा शुरु हुन्छ।"

शब्दावली

प्रचण्डले कम्युनिष्ट पार्टीले दीर्घकालीन लक्ष्य प्राप्त गर्ने विधिका निम्ति प्रयोग गरिने कम्युनिष्ट शब्दावली रणनीतिको नयाँ स्वरुपबारे पार्टीमा नयाँ बहस शुरु गरेको पनि जानकारी दिए।

उक्त बहस माघमा प्रस्ताव गरिएको महाधिवेशनसम्म लगिने बताउँदै उनले भने, "दुनियाभरका माओवादी आन्दोलन रणनीतिलाई घोंचो समात्या झै समात्न खोज्दा बिग्रिए, त्यसकारण जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा र समाजवादी क्रान्तिको आधार तयार पर्ने नयाँ रणनीतिलाई नयाँ रुपमा विकास गर्नुपर्छ भनेकै हो।"

संशोधनवादमा भासिएर पार्टी नेतृत्वले क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै माओवादीका प्रभावशाली नेताहरुले हालै नयाँ पार्टी गठन गरेका छन्।

तर उनीहरुलाई एकताको निम्ति अपिल गर्दै प्रचण्डले दुबै पार्टीको प्रस्तावित महाधिवेशनलाई एकता महाधिवेशनमा रुपान्तरण गर्न आग्रह समेत गरेका छन्।