विशेष अदालतद्वारा पूर्व मन्त्री जोशी भ्रष्टाचारी ठहर

  • 25 जुलाई 2012
सर्वोच्च अदालत
Image caption सर्वोच्चले जोशीको भ्रष्टाचार मुद्दामा फेरि सुनुवाई गर्ने आदेश दिएको थियो

विशेष अदालतले पटक पटक मन्त्री बनेका पूर्व मन्त्री गोबिन्दराज जोशीले पदिय दुरुपयोग गरि सवा दुई करोड रुपैयाँ भन्दा बढि भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्षको कैद सजाय सुनाएको छ।

यो फैसला बिरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउनेछन्।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि आठ पटक मन्त्री भएका जोशीले पदिय दुरुपयोग गरि गैर कानुनी ढंगले हैसियत भन्दा बढि सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको हो।

तीन/ तीन पटक गृह मन्त्रि बनेका जोशीले करिव दुइ करोड १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको फैसलामा उल्लेख छ।

तर उनले त्यो रकम र विगो सहित झण्डै सवा चार करोड रुपैयाँ तिर्नुपर्ने छ।

दोषी

जोशीलाई भ्रष्टाचारमा दोषी ठहर गर्नुको कारण बारे विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले भने, “सार्वजनिक पदमा छँदा गैर कानुनी ढंगले अस्वभाविक रुपमा अकुत सम्पत्ति कमाएको देखिएकाले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको हो।”

फैसलामा उल्लेख भए अनुसार २०५० साल सम्म सामान्य हैसियत भएका जोशीले शिक्षा, गृह, जलस्रोत, स्थानीय विकास र पर्यटन मन्त्री छँदा झण्डै चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध २०६१ सालमा मुद्दा दायर गरेको थियो।

तर विशेष अदालतले म्याद नाघेर मुद्दा दायर भएको आधार देखाउँदै विषयमा प्रवेशै नगरी २०६३ साल कार्तिकमा जोशी विरुद्धको मुद्दा खारेज गर्यो।

त्यस विरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्यो।

सर्वोच्चले विशेष अदालतलको फैसला त्रुटिपूर्ण भएको औल्यायो र सुरुदेखि सुनुवाई गर्न आदेश दिंदै २०६८ साल पुषमा जोशीको मुद्दा विशेषमै फर्काईदियो।

त्यसपछि विशेषले उनको मुद्दामा सुरुदेखि सुनुवाई गर्यो र अख्तियारले दाबी गरे अनुसार जोशीले भ्रष्टाचार गरेको ठहर सहितको फैसला बाहिर ल्याएको हो।

रजिष्टार चन्दका अनुसार विशेषले तोकेको जरिवाना धरौटीका रुपमा जम्मा गरेपछि जोशीले सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्।

एकपटक सफाई दिने तर अहिले दोषी ठहराउने विशेष अदालत एउटै भएपनि न्यायाधीशहरु चाहि फरक छन्।

विशेषका न्यायाधीशहरु भुपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराले जोशीलाई सफाई दिएका थिए तर बुधबार विशेषकै न्यायाधीशहरु गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रासद चालिसेले उनलाई भ्रष्टाचारी ठहर गरेका हुन्।