एक हप्तामै दुई ठूला दुर्घटना

  • 28 जुलाई 2012
बस दुर्घटना तस्वीर कपीराइट BBC World Service
Image caption सडक दुर्घटनाबारे गंभीर बन्नुपर्ने बेला आइसकेको प्रहरी अधिकारीहरू बताउँछन

एक साताभित्रै पश्चिम क्षेत्रमा दुईवटा सवारी साधन दुर्घटना हुँदा दुवै पटक गरी झण्डै ३० जनाले ज्यान गुमाएका छन्।

शुक्रबार राती पश्चिम पाल्पाको देउरालीमा एक जीप खोलामा खस्दा १४ जनाको ज्यान गएको छ।

गएको आइतवार पनि यस्तै एक जीप दुर्घटनामा परी अर्घाखांचीमा १५ जनाको ज्यान गएको थियो ।

शुक्रबार दुर्घटनामा परी मृत्यु हुनेहरुमा एकै परीवारका १३ जना भएको प्रहरीले जनाएको छ।

अनुमान

भारतको दिल्ली नजिकैबाट गुल्मीका लागि आएको भारतीय नम्बरको उक्त जीप राती अबेर दुर्घटनामा परेको अनुमान गरिएको छ।

लामो समयदेखि भारतको दिल्ली नजिकैको लखिमपुरमा बसोबास गर्दै आएका उनीहरु गत साता भारतमै मृत्यु भएका परीवारका एक सदस्यको अस्तु लिएर काजकृयाका लागि पुर्ख्यौली घर गुल्मी आउँदै थिए।

मर्नेहरूमध्ये भारतीय चालक बाहेक परिवारका छोरा, छोरी र नाती नातिनी रहेको बताइएको छ।

जीप सडकदेखि ५० मिटर तल खोलामा खसेको थियो।

लापरवाही

चालकलाई सो सडक नयाँ भएको तथा लापरवाहीपुर्वक जीप चलाएको हुँदा दुर्घटना भएको हुनसक्ने पश्चिमान्चल ट्राफिक कार्यालय बुटवलका प्रमुख डीएसपी प्रितम राज भटटराईले बीबीसीलाई बताए ।

हरेक वर्ष सवारी दुर्घटनामा दुई हजार जतिको ज्यान जाने गरेको प्रहरीको तथ्यांक छ, जुन हवाई दुर्घटनामा निधन हुने संख्याभन्दा निकै बढी हो।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी बिनोद सिंहले दुर्घटना नियन्त्रणमा गंभीर बन्नुपर्ने बेला आइसकेको बताए।

उनले भने, “भएका नियम कानून पालना गराउन सबै पक्ष जिम्मेवार हुनुपर्छ। आँखा छलेर जबर्जस्ती गर्दा नै दुर्घटना हुने गरेको हो।”

खराब सडक, तीव्र गति, क्षमता भन्दा बढी भार, रक्सी खाएर सवारी चलाउने चालक, एक्लै लामो समय सवारी चलाउनुपर्दा थकित चालक, र कोचमकोच गरेर पनि चढ्ने यात्रु सवारी दुर्घटनाको कारक बन्ने गरेका तथ्य अनेकपटक सार्वजनिक भैसकेको छ।

जानकारहरु भन्छन्, सवारी धनी र यातायात व्यवसायीलाई पनि सवारी दुर्घटनाको नियन्त्रणमा जिम्मेवार बनाइनुपर्छ।