पराजीत भएपछि शुटिंगकी स्नेहा राणा दु:खी

  • 28 जुलाई 2012
स्नेहा राणा
Image caption स्नेहाले प्रविधिसंग तालमेल नभएर पनि आफूले सोचे अनुसार प्रदर्शन गर्न नसकेको बताएकी छिन्

३० औं ओलिम्पिक खेलको आयोजक शहर लन्डन भब्य उदघाटन समारोहको तामझामपछि प्रतिस्पर्धामा केन्द्रित भएको छ ।

शनिवार विहानै देखि डेढ दर्जन भन्दा बढी खेलहरुको स्पर्धा शुरु भएको छ।

उदघाटनपछि नेपालले खेलेको पहिलो खेलमा शुटिङकी स्नेहा राणाले सोचे जस्तो नतिजा ल्याउन सकिनन् ।

५६ खेलाडीहरुले भागलिएको १० मिटर एयर राइफलमा स्नेहा राणा ५४ औं स्थानमा रहिन्।

खेलमा स्नेहाले ३८३ अंक मात्र हासिल गर्न सकिन्।

वाईल्ड कार्ड

उनको आफनो व्यक्तिगत उत्कृष्ट अंक ३८८ रहेको छ।

उनले गत जनवरीमा कतारमा भएको एसियन शुटिङ च्याम्पियनसिपमा सो स्कोर गरी ओलम्पिक वाइल्ड कार्डको लागि योग्य हुनाको साथै नयां राष्टिय कीर्तिमान पनि बनाएकी थिइन।

आफनो प्रदर्शनमा सुधार ल्याउदै नया राष्टिय कीर्तिमान बनाउने स्नेहाले बताएकी थिइन् ।

उनले भनिन्, "पहिलो पटक यतिठुलो खेलमा भाग लिएकोले थोरै नर्भस पनि भएं। अर्को तिर यहांको खेल सामग्रीसंग म अभ्यस्त हुन सकिन र नतिजामा फरक पर्यो।"

उनले आफुले अब ओलिम्पिक खेल्न पाउंछु की पाउंदिन भन्दै थपिन्, “पाएको अवसरमा राम्रो गर्न नसकेकोमा दु:ख लागि रहनेछ।“

शनिवार विहानै खेल परेकोले स्नेहाले शुक्रवार अवेर राती सम्म चलेको ओलिम्पिक उदघाटन समारोहमापनि सहभागि भएकी थिइन्।

पहिलो स्वर्ण चीनलाई

२०१२ को ओलिम्पिक्स प्रतियोगिताको पहिलो स्वर्ण पदक चिनले हासिल गरेको छ।

दश मिटर एअर राईफल प्रतियोगिताको महिला तर्फको खेलमा चिनकी यी सिलिंग विजयी भएकी थिइन्।

शनिबार भएको एउटा प्रमुख प्रतिस्पर्धा, पुरुष साइक्लींगको रोड रेस हो, साथै जीम्न्यास्टीक्स, पौडी, नौका दौड र बास्केटबलका प्रतिस्पर्धाहरु पनि भएका छन्।

प्रतिबन्धीत औषधी सेवन गरेको फेला परेपछि अल्बेनियाका एकजना भारोत्तोलकमाथि प्रतिबन्ध लगाइएको छ।

यसैबीच अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिका अध्यक्ष ज्याक रोग ले हिजो भएको ओलिम्पिक्स उदघाटन समारोहको प्रशंसा गरेका छन्।

उनले ब्रिटिश सिर्जनशिलताको सबै असल पक्षहरु त्यसअवसरमा प्रदर्शीत भएको बताएका छन्।