श्रेया धिताल हिट चरणमा पराजित, तर नयां राष्ट्रिय कीर्तिमान

  • 1 अगस्ट 2012
श्रेया धिताल
Image caption श्रेया धितालले बुधवार एक्वेटिक सेन्टरमा १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी छिन्।

लण्डन ओलिम्पिक्सको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगीताको हिट चरणबाट बाहिरिए पनि नेपाली पौडी खेलाडी श्रेया धितालले आफ्नो पहिलेको समयमा सुधार गर्दै नेपालको लागि नयां कीर्तिमान राख्‍न सफल भएकी छिन्।

लण्डन नजीक गार्डेन अफ इङल्याण्ड नामले चिनिने केन्ट शहरको प्रशिक्षण र ओलिम्पिक भिलेजको नियमित अभ्यासले श्रेया धितालको आत्मविश्वास धेरै बढेको थियो।

ओलिम्पिक सहभागितालाई आश्चर्यजनक अनुभव बताउने उनले खेल अघि बोल्दै भनेकी थिईन्, “ओलम्पिक सहभागिता आफैमा सफलता हो। मैले धेरै कुरा पाइसकेको छु। ब्यक्तिगत रुपमा केही गर्न सके त्यो सुनमा सुगन्ध हुनेछ।“

आफ्नो प्रदर्शन प्रति गम्भीर रहेर उनले खेल अघि दिनको दुई समय अभ्यास गर्ने गरेकी थिइन्।

त्यसै अनुरुप आफ्नो यस अघिको व्यक्तिगत रेकर्डमा थोरै भएपनि सुधार गर्न श्रेया धिताल सफल भएकी छिन्।

आफैसंग प्रतिस्पर्धा

४८ जना खेलाडीमध्ये उनले ४७ औं स्थान प्राप्त गरेकी छिन्।

खेल अघि उनले ओलिम्पिक्समा आफ्नो प्रतिस्पर्धा आफै संग मात्र हुने बताएकी थिइन्।

१०० मिटर फ्रिस्टाइलमा नेपालको राष्ट्रिय कीर्तिमन १ मिनेट १० दशमलव ८२ सेकेन्डको थियो जुन उनी आफैले सन् २०११ जुलाईमा चीनको सांघाईमा भएको १४ औं फिना विश्व पौडी च्याम्पियनसिपको बेला बनाएकी थिइन्।

अब त्यो १ मिनेट १० दशमलव ८० सेकेण्डको भएको छ।

सांघाईमा भएको प्रतियोगितामा १५० स्थान भित्र पर्न सफल भएकोले नै श्रेया लन्डन ओलम्पिकको लागि छानिएकी हुन्।

श्रेया धिताललाई हौस्याउन नेपालबाट उनको बुबा मुमा र बहिनी पनि लन्डन पुगेका छन्।

नेपालको पांच प्रतिस्पर्धी सहभागी यसपालिको ओलिम्पिक्समा अब पौडीका प्रसिद्धजंग शाह, १०० मिटर दौडमा पुरुष तर्फ तिलकराम थारु र महिला तर्फ प्रमिला रिजालले खेल्न बांकी छ।

यसअघि शुटींगकी स्नेहा राणाको खेल गत शनिबार नै समाप्त भैसकेको छ।