श्रेया धितालद्वारा नयां राष्ट्रिय कीर्तिमान

  • 1 अगस्ट 2012
श्रेया धिताल तस्वीर कपीराइट bbc
Image caption श्रेया धिताल नयां राष्ट्रिय कीर्तिमान राख्‍न सफल भएकी छिन्

लण्डन ओलिम्पिक्सको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगिताको हिट चरणबाट बाहिरिए पनि नेपाली पौडी खेलाडी श्रेया धिताल आफ्नो पहिलेको समयमा सुधार गर्दै नेपालको लागि नयां राष्ट्रिय कीर्तिमान राख्‍न सफल भएकी छिन्।

बुधवार हिट वानमा खेलेकी श्रेयाले १ मिनेट १० दशमलव ८० सेकेन्डमा १०० मिटर दौड पुरा गरी आफैले बनाएको कीर्तिमान भंग गरेकी हुन् ।

यस अघि उनले सन् २०११ जुलाईमा चीनको सांघाइमा भएको १४ औं फिना विश्व पौडी च्याम्पियनसिपको बेला कीर्तिमान बनाएकी थिइन्।

सोही प्रदर्शनका कारण उनी लन्डन ओलिम्पिकका लागि छानिएकी थिइन् ।

४८ खेलाडीहरूले भाग लिएको प्रतिस्पर्धामा उनले कम्बोडियाकी खेलाडी साइमा अयुवा अलिलाइ मात्र पराजित गर्न सकेकी थिइन् ।

ओलिम्पिक सहभागितालाई आश्चर्यजनक अनुभव बताउने उनले कीर्तिमान रचेपछि भनिन् “ मलाई पत्याउन गाह्रो भइरहेको छ । ओलिम्पिक शुरू देखि नै मेरा लागि आश्चर्य बनेको थियो । कीर्तिमानले थप हौसला बढायो ।”

एक महिना अगाडी लन्डन छेउको शहर केन्टमा एक महिना प्रशिक्षण लिएकी उनले यो सफलता अभिभावक, गुरू र नेपाली खेलप्रेमीसंग बांडन चाहिन् । उनले भनिन् “अझ पौडी खेल्ने रहर जागेको छ ।“

परिवारको खुशी

श्रेया धिताललाई हौस्याउन नेपालबाट उनको बुबा मुमा र बहिनी पनि लन्डन आएका छन् । जसमा उनकी आमा र बहिनीले मात्र उनको खेल प्रत्यक्ष हेर्न पाए । टिकट नपाएपछि उनका बुबा सुब्रत धितालले ओलिम्पिक ग्राम बाहिरको एउटा रेष्टुरेन्टमा बसेर छोरीको खेल टिभीमा हेरेका थिए । छोरीको कीर्तिमानबाट खुशी देखिएका उनले भने, “छोरीको ओलिम्पिक आउनुको उद्देश्य पुरा भएको छ। त्यसैमा म खुशी छु ।”

आमा अनिता धितालले भनिन्, “छोरीले हाम्रो इच्छा पुरा गरीदिएकी छिन्।”

नेपालको पांच प्रतिस्पर्धी सहभागी यसपालिको ओलिम्पिक्समा अब पौडीका प्रसिद्धजंग शाह, १०० मिटर दौडमा पुरुषतर्फ तिलकराम थारु र महिला तर्फ प्रमिला रिजालले खेल्न बांकी छ।

यसअघि शुटिंगकी स्नेहा राणाको खेल गत शनिबार नै समाप्त भैसकेको छ।