अर्बौ ठगी आरोपमा युनिटीका गुरुङ पक्राउ

  • 1 अगस्ट 2012
युनिटिका कासी गुरुङ
Image caption युनिटिका अध्यक्ष काशीराम गुरुङलाई बुधवार बिहान प्रहरीले इलामको पशुपतिनगरबाट पक्राउ गरेको छ

सरकार र अदालतको आदेशबाट खारेज भइसकेको युनिटीलाई ब्युंताउने बारेको एक बैठकमा सहभागी हुन बाग्लुङ आउने क्रममा त्यसका अध्यक्ष कासीराम गुरुङलाई बुधवार बिहान इलामको पशुपतिनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

स्वास्थ्य, रोजगारी लगायत विभिन्न सेवा प्रदान गर्ने नाममा सर्वसाधारणबाट पैसा उठाएको तर भने अनुसारको सेवा दिन नसकेको ब्यापक उजुरी बढेपछि सरकारले युनिटीमाथि छानबीन बढाएको थियो।

त्यस लगत्तै फरार रहेको भनिदै आएका युनिटीका अध्यक्ष गुरुङलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो।

सर्वोच्च अदालतले समेत युनिटी सम्बन्धी ब्यापार गैर कानुनी भएको आदेश गरेको थियो।

अदालतबाट मुद्दा हारेपछी गुरुङ भारतको दार्जिलिङमा बस्दै आएको प्रहरीको भनाइ छ।

ललितपुर प्रहरीका प्रमुख राजेन्द्रमान श्रेष्ठले भने, “उनीहरुलाई हामीले पहिले देखिनै निगरानीमा राखी रहेका थियौं।”

उनले युनिटी ठगी प्रकरणमा प्रहरीले थप चार जनालाई अझै खोजी गरीरहेको पनि बताए।

गुरुङले विनितकुमार लामाको नाममा चालक अनुमति पत्र लिएको तथा कुमारी बैंक र एसबीआई बैंकको एटीएम कार्ड प्रयोग गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

सैयौं सर्वसारधारण नेपालीलाई ठगेको आरोप लागेका गुरुङलाई बिहीबार जिल्ला अदालत ललितपुरमा पेश गरिनेछ।

उनीविरुद्ध ठगी र बैंकसंबन्धी कसुरमा मुद्धा चलाईने प्रहरीले बताएको छ।

थुनामा लगिदै गर्दा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गुरुङले आफूहरु सर्वसाधारणको पैसा फिर्ता गर्न तयार रहेको बताए।

उनले भने, “युनिटीले उठाएको पैसा फिर्ता गर्न दिने वातावरण मिलाइ दिन म तपाई पत्रकारहरु मार्फत सरकारलाई आग्रह गर्दछु।”

प्रहरीले गुरुङसँगै युनिटीका प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री, अर्थ निर्देशक कृष्णबहादर क्षेत्री एवं महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरी बैंकिङ्ग कसुर र ठगी मुद्दामा 'मोष्ट वाण्टेड' को सूचीमा राखेर दुई वर्षदेखि खोजी गरिरहेको छ।

ती तीन जना पनि गुरुङसँगै फरार भएका थिए।

युनिटी ठगी प्रकरणमा प्रहरीले यस अघि ४१ जनालाई पक्राउ गरी मुद्धा चलाइ सकेको छ।