कांग्रेसको नेतृत्वमा चुनावी सरकार अस्वीकार्य: प्रचण्ड

  • 11 अगस्ट 2012
Major parties held an interaction today to resolve the current crisis
Image caption नेकपा माओवादीले शनिवार प्रमुख दल सम्मिलित एउटा अन्तरकृया आयोजना गरेको थियो।

एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार कुनै पनि हालतमा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन्।

तर उनले राजनीतिक गतिरोध अन्त्यका लागि संविधानसभा पुनर्स्थापनाको विकल्प रोजिएमा, दलहरुबीच भएको पाँच बुदे सहमति अनुरुप सरकारको नेतृत्व कांग्रेसलाई अझै पनि दिन सकिने बताए।

प्रचण्डले सो कुरा शनिवार मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको एक अन्तरकृयाका क्रममा बताएका हुन्।

राष्ट्रपति रामवरण यादवले मुख्य दलका नेताहरुलाई राजनीतिक सहमति चांडै गर्न आग्रह गरेको लगभग एक हप्तापछि दलका प्रमुख नेताहरु सम्भवत: पहिलो पटक शनिवार एकै ठाँउमा भेला भएका थिए।

तर उनीहरुले सहमतिको कुरा गर्नु भन्दा पनि बढी समय एक अर्काप्रति आरोप प्रत्यारोपमा खर्चिएका थिए।

एकिकृत माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेकै कारण संविधान नलेखिएको आरोप दोहोराएका थिए।

कडारुपमा प्रस्तुत हुंदै, उनले संकट समाधानको निम्ती निर्वाचनको बाटो रोजेको खण्डमा कांग्रेसको नेतृत्वमा चुनावी सरकारको प्रस्ताव आफूहरुले कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका थिए।

प्रचण्डले भने, “नेपाली कांग्रेसको नेतृत्वमा सरकार हामी स्वीकार्दैनौं। हिंजो आधार छाडेपछि त्यो सम्भव छैन।”

'राजनीतिक बेइमानी'

जवाफमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीले आफूहरुलाई संघियता विरोधी भन्नु राजनीतिक बेइमानी भएको बताएका थिए।

पौडेलले भने, “अरूलाई संघीयता विरोधी घोषणा गर्नु यो राजनीतिक बेइमानी हो।”

सहमतिको बाटो खोल्ने जिम्मा माओवादीको भएको उनको भनाइ थियो।

एमाले अध्यक्ष झलनाथ खनालले दलहरुले गुटगत स्वार्थ व्यवस्थापन गर्न नसक्दा उनीहरु विफल भएको बताएका थिए।

खनालले भने, “हाम्रा नीतिगत, क्षेत्रगत र गुटगत स्वार्थ हामीले व्यवस्थापन गर्न सकेनौं।”

खनालले दलहरुको विफलताको कारण औंल्याए पनि त्यसको निदान तर्फ के गर्न सकिन्छ भनेर स्पष्ट भने पारेनन्।

शनिवारको अन्तरकृयामा पनि सहमतिको आवश्यकता औंल्याइएको थियो।

तर सबै दलले आ-आफनै शर्तमा त्यस्तो सहमति हुनु पर्ने विरोधाभासपूर्ण भनाइ दोहोराइ रहेका थिए।