डा. केसीको आमरण अनसन जारी

पछिल्लोपल्ट अपडेट गरिएको: 17.08.12, 21:35 NST सम्मका समाचार
डा गोविन्द केसी

स्वास्थ्य अवस्था विग्रिंदै गए पनि केसीले अनसन तोडेका छैनन्

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा हुँदै आएको राजनीतिक भागबण्डा रोक्न भन्दै बरिष्ठ डाक्टर गोबिन्द केसीले आमरण अनसन बसेको पाँचौ दिन पुरा भएको छ।

सरकारले डाक्टरहरुको माग सम्बोधन गर्ने प्रक्रिया शुरु भएको जनाएको छ।

डाक्टरहरुले गोबिन्द केसी बचाउ अभियान सहित शनिबार र आइतबार देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेका छन्।

विरोध

एसियामै नाम कमाएको बताइने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिँदै आएको राजनीतिक हस्तक्षेपले संस्था नै धराशायी बनेको भन्दै त्यहाँका डाक्टरहरु ६ महिना भन्दा बढि समयदेखि विरोधमा उत्रिँदै आएका छन्।

तर सरकारले उनीहरुको माग पुरा गरेको छैन।

"हामीले शनिबार र आइतबार देशभरका आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेका छौं"

डा किरण श्रेष्ठ, अध्यक्ष, नेपाल चिकित्सक संघ

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, "प्रक्रिया शुरु भएको छ, एकाध दिन लाग्छ।"

चिकित्सकहरुको पेशागत संस्था नेपाल चिकित्सक संघका अध्यक्ष डा किरण श्रेष्ठले शनिबारदेखि आन्दोलन चर्काउने बताए।

श्रेष्ठले भने, "हामीले शनिबार र आइतबार देशभरका आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेका छौं।"

चर्चा

डा केसीले आमरण अनसन शुरु गरेको भोलीपल्ट भागबन्डाका आधारमा नियुक्त गरिएका डीनका बदला अस्पतालका बरिष्ठ डाक्टर प्रकाश सायमीलाई डिन नियुक्त गरिएको चर्चा चलेको थियो।

अनशन स्थलमा उक्त चर्चा पुगेपनि अनशनकारी डा केसी र अन्य डाक्टरहरु लिखित निर्णयको पर्खाइमा थिए।

"डाक्टर सायमी बरिष्ठ डाक्टर हो। उहाँलाई बनाए हाम्रो माग पुरा भए सरह हुन्छ"

डा गोविन्द केसी

बीबीसीको प्रश्नको जवाफमा डा केसीले भने, "डाक्टर सायमी बरिष्ठ डाक्टर हो, उहाँलाई बनाए हाम्रो माग पुरा भए सरह हुन्छ।"

प्राध्यापक संघ महाराजगन्ज इकाईका अध्यक्ष डा केसीको मुटु, फोक्सो र मृगौलामा समस्या देखिन थालेपछि डाक्टरहरुले जबर्जस्ती उनलाई सलाइन चढाउन शुरु गरेको प्राध्यापक संघका अध्यक्ष प्राध्यापक दिनेश बिनोद पोखरेलले बताए।

काठमाडौंस्थित बीबीसीकी संवाददाता भन्छिन्, "डाक्टरहरुले 'स्वायत्तता देउ हामी देशका आम नागरिकको स्वास्थ्य जाँच्ने संस्थालाई बचाउँछौं' भन्दै शुरु गरिएको शान्तिपूर्ण विरोधको चरम रुप आमरण अनसनप्रति समर्थन थपिँदै जाँदा सरकारमाथि मागहरु पुरा गर्न दबाब बढ्दै गएको देखिन्छ।"

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।