सहमति नखोजे त्यसै बस्दिन: राष्ट्रपति

पछिल्लोपल्ट अपडेट गरिएको: 19.08.12, 20:59 NST सम्मका समाचार

दलहरुले सहमति गर्न नसके आफुले संविधानको रक्षकको कर्तब्य बुझेको राष्ट्रपति यादवले बताएका छन्

राष्ट्रपति रामबरण यादवले दलहरुले सहमति गर्न नसके आफु त्यत्तिकै नबस्ने बताएका छन्।

राष्ट्रपतिले राजधानीको उत्तरपूर्वी गाउँ सुन्दरीजलको एउटा विद्यालयको स्वर्ण महोत्सवलाई आइतबार संबोधन गर्दै संविधानको रक्षा गर्ने अधिकार आफुमा रहेको बताए।

संविधानसभाको समाप्ती यता राजनीतिक दलहरुसँग कहिले सामूहिक त कहिले छुट्टा छुट्टै भेटघाट गर्दै आएका राष्ट्रपति रामबरण यादवले बारम्बार सहमतिका आधारमा निकास खोज्न आग्रह गर्दै आएका छन्।

कदम

दलहरुलाई उनकै शब्दमा ‘अनुनय विनय’ गर्दै आएका राष्ट्रपतिले दलहरुले सहमति नजुटाए आफु त्यत्तिकै नबस्ने बताए।

राष्ट्रपति यादवले भने, 'तपाईंहरु मसँग नडराउनोस, तपाईंहरु सबै मिलेर आएन भने म त्यतिकै बस्दिन।'

माओवादी, कांग्रेस, एमाले र तराइकेन्द्रित गरी चार समूह एक ठाउँमा बसेर सहमति खोज्नुपर्ने राष्ट्रपतिको जोड थियो।

तर दलले सहमति जुटाउन नसके संविधानको रक्षा गर्नुपर्ने कर्तब्यलाई आफुले बुझेको राष्ट्रपतिले बताएका छन्।

कसरत

केही समय अघि राष्ट्रपतिसँगको भेटवार्तापछि सहमति गरेरै छाड्ने प्रतिक्रिया विपक्षी र सत्तारुढ दल दुवैका नेताहरुले दिएका थिए।

"तपाईंहरु मसँग नडराउनोस, तपाईंहरु सबै मिलेर आएन भने म त्यतिकै बस्दिन"

राष्ट्रपति रामबरण यादव

तर उनीहरुबीच पछिल्लो समयमा आपसी सहमतिको खोजी होइन आ-आफ्नो मोर्चा बलियो बनाउने कसरत हुँदै आएको छ।

खासगरी विपक्षीहरु र अन्य कतिपयले राष्ट्रपति सक्रिय हुनुपर्छ, देशलाई निकास दिन त्यो संविधानकै मर्म अनुसार हुन्छ भन्दै आएका छन्।

तर सत्तारुढ दलहरु र अन्य कतिपय चाहिं राष्ट्रपतिले सरकारको सिफारिश मान्ने र दलहरुलाई नै निकास खोज्न छोडिदिनुपर्नै बताउँदै आएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।