पूर्व मन्त्री खड्का जेल चलान

पछिल्लोपल्ट अपडेट गरिएको: 22.08.12, 19:52 NST सम्मका समाचार
पूर्व मन्त्री खुमबहादुर खड्का

खड्काले आफ्नो राजनीतिक मूल्यांकन सर्वोच्चका दुईजना न्यायाधीशले गर्न नसक्ने बताए

सर्वोच्च अदालतद्वारा भ्रष्ट ठहर गरिएका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का जेल चलान भएका छन्।

सर्वोच्चले तोकेको जरिवाना बुझाई जेल जान खड्का आफै बुधवार अदालतमा उपस्थित भएका थिए।

उनलाई सदरखोर डिल्लीबजारमा राखिएको छ।

सयौं शुभचिन्तक, नेपाली कँग्रेसका नेता, कार्यकर्ता र कानून व्यवासयीको दलबल सहित जिल्ला अदालत काठमाण्डूमा उपस्थित भएका खड्काको अनुहारमा पीडाको कुनै आभास मिल्दैनथ्यो।

सञ्चारकर्मीसँग हाँसी हाँसी गफ गर्दै गर्दा उनको कागजपत्र तयार भएको थियो।

कानून अनुसार २० प्रतिशत जरिवाना तथा सजाय छुट पाएका खड्का अदालत उपस्थित भएको केही बेरमै जेल जाने समय आएको थियो।

हाजिर

"जेल मेरो लागि पवित्र घर हो, पहिले पनि बसेको थिएँ र अहिले पनि बस्दै छु, छाती फुकाएर बस्दै छु, छाती फुकाएर बस्दै थिएँ"

खुमबहादुर खड्का, पूर्व मन्त्री

जेल जाँदै गर्दा उनले आफूमाथि अन्याय भएको बताए।

उनको भनाइ थियो, “म माथि अन्याय भएपनि सर्वोच्च अदालतको सम्मानको खातिर हाजिर हुन आएको हुँ र जेल जाँदैछु।”

सर्वोच्चको फैसला बमोजिम उनले झण्डै ९५ लाख रुपैयाँ बुझाउनु पर्ने थियो तर २० प्रतिशत छुट पाएका कारण करिब ७५ लाख रुपैयाँ मात्र अदालतमा बुझाए।

डेढ वर्षको कैद सजाय तोकिए पनि आफै उपस्थित भएको र २०५९ सालमा भ्रष्टाचार मुद्दा लाग्दा केही समय जेल सजाय भुक्तान गरेका कारण अब उनी १२ महिना नौ दिन जेल बसे पुग्नेछ।

खड्काले आफ्नो राजनीतिक मूल्यांकन दुईजना न्यायाधीशले गर्न नसक्ने आसय ब्यक्त गरे।

उनले भने, “खुमबहादुरलाई सबैले चिन्छन् र खुमबहादुरप्रति जन विश्वास छ कि छैन भन्ने दुइजना न्यायाधीशले जाँच्न सक्दैनन्, त्यसलाई जाँच्ने भनेको जनअदालत हो, जनता हो, जब म छुट्ने छु त्यसपछि थाहा हुनेछ कस्को पक्षमा कति जनता छ भनेर।”

आफू पटक पटक जेल बसे पनि निरन्तर राजनीतिमा लागेर विकास निर्माणका थुप्रै काम गरेको बेलिबिस्तार खड्काले सुनाए।

"म माथि अन्याय भएपनि सर्वोच्च अदालतको सम्मानको खातिर हाजिर हुन आएको हुँ र जेल जाँदैछु"

खुमबहादुर खड्का, पूर्व मन्त्री

पञ्चायतकालदेखि जेलमा बसेको स्मरण गर्दै उनले जेल आफ्नो पवित्र घर भएको उल्लेख गरे।

घर

उनले भने, “जेल मेरोलागि पवित्र घर हो, पहिले पनि बसेको थिएँ र अहिले पनि बस्दै छु, छाती फुकार बस्दै छु, छाति फुकाएर बस्दै थिएँ।”

जेलमुक्त भएपछि नेपाली काँग्रेसमै रही सक्रिय राजनीतिमा फर्कने योजना सुनाउँदै खड्काले आफ्नो पक्षमा व्यापक जनमत जुट्ने दाबी गरे।

उनलाई जेल लैजाँदै गर्दा समर्थकले उनका पक्षमा केही बेर नाराबाजी गरेका थिए।

फैसला सुनाउने सर्वोच्चका न्यायाधीश विरुद्ध आक्रोशित देखिएका खड्काले सर्वोच्च अदालतमा दायर गर्ने पुनरावलोकन निवेदनबाट न्याय पाउने आशा समेत ब्यक्त गरेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।