अख्तियारद्वारा झण्डै दुई सय जना विरुद्ध मुद्दा दायर

पछिल्लोपल्ट अपडेट गरिएको: 16.09.12, 20:27 NST सम्मका समाचार

अख्तियारले वन फँडानीमा अहिलेसम्मकै ठूलो मुद्दा विशेष अदालतमा दायर गरेको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेलधुरा वन फँडानी काण्डमा वन मन्त्रालयका उच्च कर्मचारी सहित झण्डै दुइ सय जना विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

४३ करोड रुपैया विगो निर्धारित गर्दै दायर गरिएको वन मुद्दा यस अघि चर्चित सुडान घोटाला काण्डभन्दा ठूलो भएको बताइन्छ।

राजनीतिक संक्रमणको बेला पारेर वन कर्मचारीको मिलोमतोमा देशका विभिन्न क्षेत्रका वन रित्तो बनाइएका खबरहरु र आकाशबाट खिचिएका रित्तो वनका फोटोहरु विभिन्न सन्चार माध्यममा सार्वजनिक हुँदै आएका थिए।

विनाशकारी फँडानी

राजनीतिक संक्रमण जारी रहँदा तीब्र रुपमा वन क्षेत्रको विनाशकारी फँडानी भएको बताइन्छ।

वन फँडानीबारे अख्तियारमा परेका उजुरीमध्ये एक डँडेलधुराको वन प्राकृतिक रुपमा पुनर्जीवित हुनै नसक्ने गरी विनाश गरिएको अख्तियारको अनुसन्धानले खुलाएको छ।

अख्तियारका प्रवक्ता इश्वरी पौडेलले डँडेलधुरा वन फँडानी मुद्दा वन क्षेत्रको घोटालामा अहिलेसम्मकै ठूलो भएको बताए।

तत्कालीन सुदूर पश्चिमान्चल क्षेत्रीय वन निर्देशक सहसचिव विजय पौडेल सहित ११ जना कर्मचारी, १०८ वटा सामुदायिक वनका १८५ जना पदाधिकारी र काठ व्यापारीको मिलोमतोमा वन फँडानी गरिएको अख्तियारको ठहर छ।

निलम्बन

"स्थलगत अनुसन्धान गरेर तथ्यहरु संकलन गरेर र विज्ञहरुसँग परामर्श समेत गरेर तथ्य, कानुन र प्रमाणका आधारमा हामीले मुद्दा दायर गरेका छौं "

इश्वरी पौडेल, प्रवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियारले मुद्दा दायर गरेका कारण कर्मचारीहरु स्वत: निलम्बनमा परेका छन्।

अख्तियारले करीब एक महिनाको स्थलगत अध्ययन, काटिएका रुखहरुको मूल्य निर्धारण र वन विज्ञहरु समेत संलग्न गराएर मुद्दा तयार गरेको प्रवक्ता पौडेलले बताए।

उनले भने, "स्थलगत अनुसन्धान गरेर तथ्यहरु संकलन गरेर र विज्ञहरुसँग परामर्श समेत गरेर तथ्य, कानुन र प्रमाणका आधारमा हामीले मुद्दा दायर गरेका छौं "

डडेलधुरा बाहेक अन्यत्र भएका वन फँडानीबारे पनि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।