दलहरूको छलफल 'जेठ कै सहमति वरिपरि केन्द्रित'

पछिल्लोपल्ट अपडेट गरिएको: 18.09.12, 20:38 NST सम्मका समाचार
मुख्य दलका शीर्ष नेताको बैठक

मुख्य दलहरुबीच संघीयतामा कुरा नमिल्दा संविधानसभा भंग भएको थियो

एकीकृत माओवादि, नेपाली कँग्रेस, नेकपा एमाले र तराई केन्द्रित दलहरुको मधेशी मोर्चका नेताहरुबीच मंगलबार भएको छलफलमा जेठ दुईको सहमति अनुसार संविधानका विवादित विषयमा नयाँ समझदारी बनेमा संविधानसभा पुनर्स्थापना गरेर नयाँ संविधानको मस्यौदा घोषणा गर्ने र त्यसो नभए नयाँ चुनावमा जाने विषयमा छलफल भएको बताइएको छ।

बुधवार हुने बैठकबाट धेरै कुराको टुंगो लाग्न सक्ने नेताहरुले जनाएका छन्।

पुनर्स्थापना

जुन अनौपचारिक सम्झौतालाई संविधानसभा भंग हुनुको कारण देखाइएको थियो त्यही सम्झौतामा टेकेर नयाँ सहमति खोज्ने विषयमा दलहरुले छलफल थालेका बताएका छन्।

"यदि संविधानका विवादित विषयमा सहमति भयो भने संविधानसभा पुनर्स्थापना गरेर त्यहाँबाट संविधनको मस्यौदा घोषणा गर्न सकिन्छ"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कँग्रेस

गत जेठ दुई गते बालुवाटारमा हस्तारक्षरै नगरि अनौपचारिक सहमति गरिएको तर नयाँबानेश्वरस्थित तत्कालिन संविधानसभा भवनमा नपुग्दै तोडिएको उक्त सम्झौतामा बहुजातीय ११ प्रदेश बनाउने, शासकीय प्रणाली मिश्रित हुने र मि‍श्रित निर्वाचन प्रणाली अपनाउने लगायत बुँदा समेटिएका थिए।

यिनै बुँदामा सहमति जुटे संविधानसभा पुनर्स्थापना गर्न सकिने नेपाली कँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।

उनले भने, “यदि संविधानका विवादित विषयमा सहमति भयो भने संविधानसभा पुनर्स्थापना गरेर त्यहाँबाट संविधानको मस्यौदा घोषणा गर्न सकिन्छ।”

मधेशी मोर्चाको विरोधका कारण जेठ दुई गतेको अनौपचारिक सहमति लागु गर्न नसकिएको एकीकृत माओवादी अध्यक्ष प्रचण्डले अरू दललाई बताउँदै आएका छन्।

तर मंगलबारको बैठक चाहीं उक्त सहमतिकै वरिपरि केन्द्रित भएको एकिकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले बताए।

"जेठ दुई गतेको सहमतिमा केन्द्रित भएर छलफल अघि बढाउने र सकभर नयाँ समझदारी बनाउन प्रयास गर्ने यदि त्यसो गर्न सकिएन भने नयाँ प्रक्रियामा जाने विषयमा सैद्धान्तिक सहमति भएको छ"

अग्नी सापकोटा, प्रबक्ता, एकीकृत माओवादी

उनले भने, “जेठ दुई गतेको सहमतिमा केन्द्रित भएर छलफल अघि बढाउने र सकभर नयाँ समझदारी बनाउन प्रयास गर्ने यदि त्यसो गर्न सकिएन भने नयाँ प्रक्रियामा जाने विषयमा सैद्धान्तिक सहमति भएको छ।”

जेठ दुई गतेको सम्झौता के कारणले भताभुंग हुन पुग्यो भनेर बैठकमा प्रश्न उठाइएको एमाले नेता भिम रावलले बताए।

मधेसी मोर्चाले चाहीं प्रस्तावित बहुजातीय ११ प्रदेश मान्य नहुने अडान दोहो-याएको छ।

मोर्चका एकजना नेता एवं सञ्चारमन्त्री राजकिशोर यादवले जेठ दुई गते र अहिलेको स्थितिमा खासै अन्तर नआएको बताए।

गहिरिंदो राजनीतिक संकटबारे राष्ट्रपतिले समेत विशेष चासो देखाईरहेका बेला दलहरुले छलफललाई निरन्तार दिए पनि मुद्दाहरु गम्भीर रहेकाले छिट्टै सहमति जुट्नेमा चाहिं स्वयं नेताहरु नै अलमलमा देखिन्छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।