सरकारको नेतृत्व कांग्रेसलाई- माधबकुमार नेपाल

पछिल्लोपल्ट अपडेट गरिएको: 21.09.12, 20:26 NST सम्मका समाचार
four party meeting

मुख्य दलहरुको शुक्रबारको बैठकमा एमाले नेता माधबकुमार नेपालले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव गरेका थिए

नयाँ चुनावको मार्गचित्र खोज्न शुक्रबार बसेको चार दलको बैठकमा भूतपूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधबकुमार नेपालले चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिन प्रस्ताव गरेका छन्।

चार प्रमुख राजनीतिक शक्तिले चुनावमा जाने निर्णय गरेको पर्सीपल्ट आयोजित संयुक्त बैठकमा नेता नेपालले त्यस्तो प्रस्ताव गरेका हुन्।

चार दलका सबैजसो मुख्य नेताहरु उपस्थित उक्त बैठकले मार्गचित्र बनाउने अधिकार शीर्ष नेताहरुलाई दिएको छ।

बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनुपस्थित थिए।

प्रस्ताव

संविधानसभाको अवसान नहुँदै चार प्रमुख राजनीतिक शक्तिहरुले नयाँ संविधान जारी गरेपछि गर्नुपर्ने नयाँ राष्ट्रिय निर्वाचन कांग्रेसको नेतृत्वमा गर्ने लिखित सहमति गरेका थिए।

नेता नेपालले उक्त सहमति स्मरण गराउँदै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ निर्वाचन गराउने प्रस्ताव राखेका थिए।

उनले भने, "हामीले पहिले सहमति बने बमोजिम नेपाली कांग्रेसलाई नेतृत्व दिउँ भन्यौं, अरुले त्यसमा केही बोलेनन्, शीर्ष नेतृत्वले निर्णय गर्न भने।"

"हामीले पहिले सहमति बने बमोजिम नेपाली कांग्रेसलाई नेतृत्व दिउँ भन्यौं, अरुले त्यसमा केही बोलेनन्, शीर्ष नेतृत्वले निर्णय गर्न भने"

माधबकुमार नेपाल, एमाले वरिष्ठ नेता

उनले आगामी बैशाखमा एकैपटक संविधानसभा र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने प्रस्ताव समेत राखेका थिए।

चुनौति

तर माओवादीले नयाँ परिस्थितिमा नयाँ निर्णय गर्नुपर्ने भन्दै सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसको दावीलाई चुनौति दिँदै आएको छ।

बैठकमा सहभागी एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले भने, "संवैधानिक जटिलताको गाँठो फुकाउने, नियम कानुन संशोधन गर्ने र सरकारको विषय सबै प्याकेजमै सहमति गर्नुपर्छ।"

चुनावी सरकारको नेतृत्व आफ‍्नो हुनुपर्ने दावी गर्दै आएको कांग्रेसले शुक्रबार बिहान पार्टीको आन्तरिक बैठकमा माओवादी नेतृत्वको सरकारले गर्ने चुनाव नमान्ने निर्णय गरेको थियो।

संविधानसभा अवसान भएको झण्डै चारमहिना सम्म संविधानसभा पुनर्स्थापना या चुनाव भन्दै अलमलमा रहँदै आएका दलहरुले गत बुधबार नयाँ निर्वाचनमा जाने निर्णय गरेका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।