निकास खोज्ने अधिकार हाम्रो पनि: साना दल

पछिल्लोपल्ट अपडेट गरिएको: 23.09.12, 21:14 NST सम्मका समाचार

नेमकिपा लगायतका विभिन्न साना दलले निकास खोज्ने बैठकमा सहभागिता खोजिरहेका छन्

साना दलले जारी राजनीतिक गतिरोधको निकास खोज्ने प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने बताएका छन्।

गत साता चार राजनीतिक दलहरू एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाले राजनीतिक निकासका लागि नयाँ चुनावमा जाने निर्णय गरेका थिए।

उक्त निर्णय प्रक्रियाप्रति साना दलको असन्तुष्टी धमाधम सार्वजनिक भइरहेको छ।

संविधानसभा विघटन भएकाले त्यसमा प्रतिनिधित्व गरेका सबै पार्टीको राजनीतिक हैसियत बराबर बनेको साना दलको दावी छ।

"चार दलले आफूले गरेको निर्णय सर्वोपरी हुन्छ भन्ने ठान्नु भएन, अरुलाई पनि विश्वासमा लिएर सहमतीमा ल्याएर काम गर्नुपर्छ"

सूर्यबहादुर थापा, अध्यक्ष, राजपा

चार राजनीतिक शक्तिको संविधानसभामा दुई तिहाई प्रतिनिधित्व थियो।

त्यसैका आधारमा संविधानसभामा नमिलेका विषयहरुलाई उनीहरुले चार शक्तिको बैठक बसेर निर्णय लिने प्रयत्न गर्दै आएका छन्।

आलोचना

नेपालको राजनीतिको लामो अनुभव बोकेका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले गत साता चार दलले नयाँ निर्वाचनमा जान गरेको निर्णयको आलोचना गरेका छन्।

उनले भने, “संविधानसभा नभएको अवस्थामा राजनीतिक दृष्टिकोणले त अरु दल पनि समान हक राख्ने अवस्थामा छन्, सबै मिलेर समझदारीमा पुग्नुपर्‍यो।”

राजनीतिक वृत्तमा बेलामौकामा अलग राजनीतिक विचारको तरंग फ्याँक्ने गरेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि नेता थापासँग सहमत देखिन्छन्।

सर्वदलीय सभा

उनी भन्छन्, “संविधानसभा भंग भएपछि सबै समान छन्। पुरानो शक्तिको आधारमा निर्णय गरिनुहुन्न; सर्वदलीय सभा बोलाउनुपर्छ।”

साना दलहरुलाई चुनावमा जाने दलहरुको पछिल्लो निर्णय भन्दा पनि निर्णय प्रक्रियामा आफूहरुलाई सरिक नबनाइएकोमा आपत्ति देखिन्छ।

नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा

"संविधानसभा भंग भएपछि सबै समान छन्, पुरानो शक्तिको आधारमा निर्णय गरिनुहुन्न; सर्वदलीय सभा बोलाउनुपर्छ"

नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा

नेता थापा ठूला दलले अरूलाई कम आँक्न नहुने बताउँछन्।

उनी भन्छन्, “चार दलले आफूले गरेको निर्णय सर्वोपरी हुन्छ भन्ने ठान्नु भएन। अरुलाई पनि विश्वासमा लिएर सहमतिमा ल्याएर, समझदारीमा ल्याएर काम गर्नुपर्छ।”

संविधानसभाको अवसान यता संविधानसभामा सबभन्दा ठूलो दल रहेको माओवादी फुटेर मोहन बैद्य नेतृत्वको दोश्रो माओवादी पार्टी बनिसकेको छ।

उनीहरुले पनि चार राजनीतिक दलको निर्णय अमान्य भनी आफ्नो भनाइ सार्वजनिक गरिसकेका छन्।

त्यसैगरी तराइ केन्द्रित एउटा दल मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चारदलमात्रैको सहभागितमा गरिने प्रक्रियाप्रति सार्वजनिक असहमति प्रकट गरेको बताइएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।