'अबको चुनावमा विद्युतीय मतदान यन्त्र '

पछिल्लोपल्ट अपडेट गरिएको: 10.10.12, 20:47 NST सम्मका समाचार
विद्युतीय मतदान यन्त्र

केही दलका प्रतिनीधिले विद्युतीय मतदान यन्त्रको विश्वसनीयतामा प्रश्न उठाएका थिए

राजनीतिक दलहरु नयाँ चुनावमा जाने कि संविधानसभा पुनर्स्थापना गर्ने भन्ने विवादमा अल्झिरहँदा निर्वाचन आयोगले आउँदो चुनावमा इलेक्ट्रोनिक भोटिङ मशिन अर्थात विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ।

त्यसका लागि सैद्धान्तिक सहमति गरिसकिएको बताउँदै आयोगले सबै दलका प्रतिनिधिलाई यसबारे बुधवार सामुहिक जानकारी गराएको थियो।

बिद्युतीय यन्त्रको बारेमा गाउँ गाउँमा सन्देश फैलाएर सहयोग गरिदिन आयोगले दलहरु समक्ष आग्रह गरेको छ।

तयारी

"अब हुने राष्ट्रिय निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने सैद्धान्तिक निर्णय हामीले गरेका छौं र त्यसै विषयमा जानकारी गराउन दलहरुसँग छलफल गरेका हौं"

नीलकण्ठ उप्रेती, कार्यवाह प्रमुख निर्वाचन आयुक्त

आयोगको निमन्त्रणामा छलफलमा भाग लिन पुगेका विभिन्न ८० दलका प्रतिनिधिहरू समक्ष निर्वाचन आयोगका पदाधिकारीले आउँदो राष्ट्रिय चुनावमा सबै निर्वाचन क्षेत्रहरुमा विद्युतिय मतदान यन्त्र प्रयोग गर्न आफूहरु तयार रहेको जानकारी गराएका हुन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, “अब हुने राष्ट्रिय निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने सैद्धान्तिक निर्णय हामीले गरेका छौं र त्यसै विषयमा जानकारी गराउन दलहरुसँग छलफल गरेका हौं।”

यो यन्त्रको प्रयोगले चुनावमा समय र स्रोतसाधनको बचत हुने आयोगका अधिकारीहरूको भनाइ छ।

उप्रेतीका अनुसार विद्युतीय मतदान यन्त्र प्रयोग गरी निर्वाचन गराउँदा चुनावमा धाँधली हुने खतरा निकै कम हुनेछ।

"भारतमा यही यन्त्रको प्रयोग गर्दा निकै विवाद भएको थियो र मत पनि चोरी भएका खबरहरू आएका थिए, यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ निर्वाचन आयोग सचेत हुनुपर्छ"

शम्भु चौधरी, प्रतिनिधि, नेपाल समाजवादी पार्टी

तर छलफलमा सहभागी केही दलका प्रतीनिधिले विद्युतीय मतदान यन्त्रको विश्वस्नीयतामाथि नै प्रश्न उठाएका थिए।

भारतमा यस्तो यन्त्रको दुरुपयोग भएको बताउँदै छलफलमा सहभागी समाजवादी पार्टीका प्रतिनिधि शम्भु चौधरीले भने, “भारतमा यही यन्त्रको प्रयोग गर्दा निकै विवाद भएको थियो र मत पनि चोरी भएका खबरहरू आएका थिए, यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ निर्वाचन आयोग सचेत हुनुपर्छ।”

आवश्यक

तर छलफलमै सहभागी एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले लगायत कतिपय दलले चाहीं विद्युतीय यन्त्रको प्रयोग आवश्यक रहेको धारणा राखेका थिए।

निर्वाचन आयोगले २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाण्डूको क्षेत्र नम्बर एक र संविधानसभा उपनिर्वाचनमा छवटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्रको सफल प्रयोग गरिसकिएको बताएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।