बीबीसीका दुई वरिष्ठ कार्यकारी “निष्कृय”

पछिल्लोपल्ट अपडेट गरिएको: 12.11.12, 17:49 NST सम्मका समाचार
हेलेन बोडेन

डाइरेक्टर अफ न्युज, हेलेन बोडेन, र उनका सहायकलाई पदीय जिम्मेवारी वहन नगर्न भनिएको छ

बीबीसीको समाचार विभागकी निर्देशक, डाइरेक्टर अफ न्युज, हेलेन बोडेन, र उनका सहायक स्टीभ मिचेललाई उनीहरुको पदीय जिम्मेवारी अनुसार सकृय नरहन भनिएको छ।

उनीहरुलाई बीबीसीका एकजना भूतपूर्व प्रख्यात कार्यक्रम संचालक स्वर्गीय जीमी स्याभीलमाथिका बाल यौन दुर्व्यवहार सम्बन्धी आरोपहरुको प्रकरणका सिलसिलामा जारी आन्तरिक छानबिनको अन्त्य नभएसम्मका लागि त्यस्तो व्यवस्था गरिएको बताइएको छ।

यस अघि यौन दुर्व्यवहार सम्बन्धी समाचार प्रकरणमा बीबीसीको एउटा घरेलु टेलिभिजन च्यानलमा जल्दाबल्दा विषयहरु समेटेर प्रसार हुने लोकप्रिय कार्यक्रम न्यूजनाइटमाथि भएको एउटा छुट्टै छानबिनको प्रतिवेदन सार्वजनिक गरिएको थियो।

उक्त प्रतिवदेनले बीबीसीले व्यवस्थापकहरुको कार्य विभाजन र जिम्मेवारीको तहगत व्यवस्था, चेन अफ कमाण्ड, मा देखिएको अस्पष्टताको समाधान गर्नु पर्ने बताएको छ।

विवादास्पद कार्यक्रम

यौन दुर्व्यवहार सम्बन्धी विषयमा प्रसारित एउटा विवादास्पद कार्यक्रमपछि उत्पन्न परिस्थितिमा बीबीसीका महानिर्देशक जोर्ज एन्ट्वीसलले शानिबार राजीनामा दिइसकेका छन्।

उनले अब एकमुष्ट चार लाख पचास हजार पाउण्ड पाउने प्रावधानको पनि व्यापक आलोचना भएको छ।

टेलिभिजन कार्यक्रम न्यूजनाइटमा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा समाचार सामाग्री प्रसारण भएपछि त्यसबाट ब्रिटेनको सत्ताधारी कन्जरभेटिभ पार्टीका भूतपूर्व कोषाध्यक्ष लर्ड म्याकअल्पाइनलाई, उत्तरी वेल्समा सन् १९८० को दशकमा बाल यौन दुर्व्यवहारमा संलग्न रहेको गलत आरोप लगाइएको थियो।

उक्त समाचार प्रसारण भएपछि उत्पन्न परिस्थितिका माझ महानिर्देशक एन्ट्वीसलले पदमा नियुक्ति लिएको आठ हप्तामा नै राजीनामा दिएका हुन्।

बीबीसीले हेलेन बोडेन र स्टीभ मिचेलको सम्बन्ध लर्ड म्याकअल्पाइनसंग सम्बन्धित गलत सूचना सहितको कार्यक्रमसंग नभएको स्पष्ट पारेको छ।

तर ती दुई वरिष्ठ समाचार कार्यकारीहरु बीबीसीका भूतपूर्व कार्यक्रम संचालक दिवंगत जीमी स्याभिल विरुद्ध लगाइएका बाल यौन दुर्व्यहार सम्बन्धी समाचारको छानबिनमा भएको असफलताका समयमा बीबीसीको चेन अफ कमाण्डका एक भाग थिए।

छानबिन

ब्रिटेनको निजी क्षेत्रको एउटा समाचार च्यानल स्काइ न्यूजका भूत‌पूर्व प्रमुख निक पोलार्डको नेतृत्वमा उक्त विषयमा भैरहेको छानबिनको नतिजा नआउन्जेल ती दुई वरिष्ठ कार्यकारीहरुले निर्णायक भूमिकाबाट आफुलाई अलग राखेका हुन्।

उक्त छानबिनको परिणामका आधारमा बीबीसीमा अनुशासनको कारवाही समेत हुन सक्ने बताइएको छ।

रेडियो, टेलिभिजन र अनलाइनमा प्रस्तुत हुने संयुक्त अधिराज्य र विश्वव्यापी समाचार विभागको समग्र सम्पादकीय र व्यवस्थापकीय जिम्मेवारी हेलेन बोडेनले सम्हाल्दै आएकी थिइन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।