‘शीर्ष नेतासँगको छलफलपछि राष्ट्रपतिको निर्णय’

पछिल्लोपल्ट अपडेट गरिएको: 12.12.12, 20:32 NST सम्मका समाचार
राष्ट्रपति रामवरण यादव

राष्ट्रपतिले दिएको तेस्रो म्याद बुधबार सकिंदा सम्म सहमतिका सम्भावना देखिएका छैनन्

सहमतीय प्रधानमन्त्री सिफारिस गर्न आफुले दलहरुलाई दिएको तेस्रो पटकको म्याद बुधबार सकिएपछि राष्ट्रपति रामवरण यादवले अब मुख्य दलहरुसँग छलफल गरेपछि मात्र भावी रणनीति तय गर्ने तयारी गरेका छन्।

मधेशी मोर्चा सहित तीन मुख्य दलका शीर्षनेताहरुसँग बिहीबार बिहान छलफल गरेपछि राष्ट्रपतिले आवश्यक निर्णय लिने उनका प्रेस सल्लाहकारले बताए।

"मलाई के लाग्छ भने दलहरुले चाहेमा सहमतिका लागि राष्ट्रपतिजीले फेरि म्याद दिनु हुन्छ"

प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

यस अघि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले बुधबार बिहानै राष्ट्रपतिलाई भेटेर फेरि म्याद बढाउन आग्रह गरेका थिए।

प्रधानमन्त्रीको साझा उम्मेदवार सिफारिस गर्न दुई पटक सात, सात दिनको र तेस्रो पटक ६ दिनको म्याद राष्ट्रपतिले दलहरुलाई दिएका थिए।

तेस्रो म्याद सकिंदासम्म दलहरुबीच सहमतिका सम्भावनाहरु देखिएका छैनन्।

आग्रह

अब के हुन्छ भन्ने अड्कलबाजीकाबीच एकाबिहानै एकीकृत माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर सहमतिको प्रयास जारी रहेको भन्दै फेरि म्याद बढाउन आग्रह गरेका थिए।

भेटपछि प्रचण्डले संवाददाताहरुसँग भने, “मलाई के लाग्छ भने दलहरुले चाहेमा सहमतिका लागि राष्ट्रपतिजीले फेरि म्याद दिनु हुन्छ।”

"चार जना नेताहरु छलफलका लागि आउँदै हुनुहुन्छ, उहाँहरुले गर्ने आग्रह सुनेपछि राष्ट्रपतिले आवश्यक निर्णय लिनुहुन्छ"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

बुधबार साँझ सम्ममा राष्ट्रपति कार्यालयबाट म्याद बढाउने वा नबढाउने विषयमा कुनै निर्णय आउन सक्ने अनुमानहरु गरिए पनि बिहीबार बिहान एकीकृत माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरुसँग छलफल गरेपछि मात्र राष्ट्रपतिले निर्णय लिने उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।

दाहालले भने, “चार जना नेताहरु छलफलका लागि आउँदै हुनुहुन्छ, उहाँहरुले गर्ने आग्रह सुनेपछि राष्ट्रपतिले आवश्यक निर्णय लिनुहुन्छ।”

फेरि म्याद थपको सम्भावना छ कि छैन भन्ने प्रश्नमा सल्लाहकार दाहालको जवाफ थियो, “‌औपचारिक म्याद थपको आग्रहकै लागि दलका नेताहरु बिहीबार बिहान शितल निवास आउन लाग्नु भएको हो जस्तो मलाई लाग्छ।”

विकल्प

सहमतीय चुनावी सरकारका लागि प्रधानमन्त्रीको उम्मेदवार समेत तय गरिसकेको नेपाली काँग्रेसले पनि फेरि म्याद थप्नुको विकल्प नभएको बताएको छ।

"फेरि पनि म्याद थप्नुको विकल्प छैन, राष्ट्रपतिले म्याद थप्ने र दलहरु छलफलमा केन्द्रित भएर निकास दिनु नै अहिलेको एक मात्र विकल्प हो"

अर्जुननरसिंह केसी, नेता, नेपाली कँग्रेस

काँग्रेस नेता अर्जुननरसिंह केसीले भने, “फेरि पनि म्याद थप्नुको विकल्प छैन, राष्ट्रपतिले म्याद थप्ने र दलहरु छलफलमा केन्द्रित भएर निकास दिनु नै अहिलेको एक मात्र विकल्प हो।”

अन्यौलपूर्ण राजनीतिक स्थितिका माझ मुख्य दलहरुले अब पनि सहमति जुटाउन नसके राष्ट्रपतिले तत्कालिन संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुसँग सामूहिक छलफल गर्ने र त्यस्तो छलफलबाट आउने सुझाव अनुसार अघि बढ्ने अपुष्ट खबरहरुले पनि चर्चा पाउन थालेका छन्।

राष्ट्रपतिका सल्लाहकार दाहालले त्यो सम्भावना पनि खुलै रहेको जानकारी बीबीसीलाई दिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।