प्याकेजमा सहमति नभै छाड्दिनं: प्रधानमन्त्री

पछिल्लोपल्ट अपडेट गरिएको: 20.12.12, 20:01 NST सम्मका समाचार

प्रधानमन्त्री बाबुराम भट्टराईले आफु सहमतिको बाधक नरहेको सन्चारकर्मीहरुलाई बताए

राष्ट्रपति रामबरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईलाई बोलाएर चुनाव गर्न तत्परता देखाउन निर्देशन दिएको भोलिपल्ट प्रधानमन्त्री बाबुराम भट्टराईले प्याकेजमा सहमति नभै सत्ता नछोड्ने आफ्नो अडानको बचाउ गरेका छन्।

आफु सहमतिको बाधक नबन्ने भन्दै प्रधानमन्त्रीले पहिलो चरणमा वर्तमान सरकारकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन्।

बिहीबार बालुवाटारमा सन्चारकर्मीहरु निम्त्याएर आफुलाई सहमतिको बाधकको रुपमा चित्रित गरिएकोमा उनले दुख व्यक्त गरे।

आफ्नो नेतृत्वको सरकारको बचाउ गर्दै उनले भने, "राष्ट्रिय सहमतिको सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्छ। पहिलो चरणमा हाम्रो नेतृत्वमा आउनोस्, दोश्रो चरणमा विपक्षीहरुको नेतृत्वमा जान हामी तयार छौं । त्यसले विश्वास बनाउँछ।"

विकल्प

दुवै पक्षले अडान नछोड्ने हो भने तेश्रो पक्षको नेतृत्वको सरकार विकल्प हुनसक्ने उनले बताए।

तेश्रो पक्ष को हो? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री भट्टराईले भने, "त्यो जो कोही पनि हुन सक्छ।"

"राष्ट्रिय सहमतिको सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्छ। पहिलो चरणमा हाम्रो नेतृत्वमा आउनोस्, दोश्रो चरणमा विपक्षीहरुको नेतृत्वमा जान हामी तयार छौं। त्यसले विश्वास बनाउँछ"

बाबुराम भट्टराई, प्रधानमन्त्री

अध्यक्ष प्रचण्ड र आफुबीच रहेको मतभेद स्वीकार्दै उनले भने, "हामीबीच एकता प्रधान संघर्षको सम्बन्ध हो, थुप्रै विषयमा हामीबीच बहस जारी छ।"

मतभेद

दुईजनाबीच उत्पन्न मतभेदबारे शुक्रबार तय गरिएको माओवादीको विस्तारित बैठकमा छलफल हुने बताइएको छ।

त्यसबारे संकेत गर्दै प्रधानमन्त्रीले भने, "अहिलेसम्मको पार्टीको अडान यही हो। अब भोलिको बैठकमा छलफल भएर नयाँ निर्णय आउन पनि सक्छ।"

तर बन्नै लागेको सहमति कामचलाउ सरकारका प्रधानमन्त्री भट्टराईका कारण भाँडिएको कतिपयको बुझाइ छ।

बुधबार साँझ सत्तारुढ गठबन्धनका दलहरुसँग प्रधानमन्त्री निवासमा भएको बैठक र बिहीबार दिउंसो गणतान्त्रिक गठबन्धनका नाममा भएको बैठक अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको थियो।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, विपक्षीहरुको कुनै हालतमा वर्तमान सरकारमा सहभागी नहुने अडानबीच ति बैठकले वर्तमान सरकारको निरन्तरतालाई प्राथमिकतासाथ प्रस्तुत गर्नुले तत्काल सहमति बन्ने संभावना न्यून देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।