सहमति जुटाउन एकीकृत माओवादीमाथि दबाब

पछिल्लोपल्ट अपडेट गरिएको: 21.12.12, 20:59 NST सम्मका समाचार
प्रचण्ड

राजीनामाको विषयलाई लिएर प्रचण्ड र प्रधानमन्त्री भट्टराईबीच मतभेद देखिएको छ

प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार छोड्न नमानेपछि पार्टीभित्र चर्किएको मतभेद समाधान गर्न एकीकृत नेकपा माओवादी शुक्रबार पनि विफल भएको छ।

राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रमुख दलहरु सहमति नजिक पुगेको भन्ने एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको भनाइ सार्वजनिक भए लगत्तै प्रधानमन्त्री भट्टराईले सरकार छोड्न नमानेपछि एकीकृत माओवादीभित्र विवाद चर्किएको हो।

तर राष्ट्रिय सहमतीय सरकारबारेको विवाद समाधान गर्नेबारे पार्टीको शनिबारको बैठकमा छलफल हुने सो दलका नेताहरुले बताए।

प्रधानमन्त्री बाबुराम भ‍ट्टराईको अडानका कारण राष्ट्रिय सहमतीय सरकार गठन गर्ने प्रमुख दलहरुको प्रयास फलदायी नभएको विश्लेषण भइरहँदा शुक्रबार धेरैको ध्यान एकीकृत माओवादीको बैठकतर्फ खिचिएको थियो।

संवाद

तर प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण उनको पार्टीको केन्द्रिय कार्यालयको विस्तारित बैठक केहिबेर बसेर स्थगित गरिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए।

पौडेलले भने, “मन्त्रिपरिषदको बैठक भएकाले प्रधानमन्त्री र अरु मन्त्रीहरु बैठकबाट जानु भयो, तर बैठकमा अध्यक्ष र प्रधानमन्त्रीले रिपोर्टहरु प्रस्तुत गर्नुभयो।”

"चुनावको घोषणा, संविधान संशोधन लगायतका विषयहरुको गाँठो फुकाउने काम पहिले गर्ने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्व सहमतिको आधारमा टुंग्याउने पहिलेको अडान कायमै छ"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

“तर पार्टी भित्र दुई पक्षबीच विभाजन भएको अवस्था होइन।”

यहि सरकारलाई सहमतिको सरकार बनाएर पछि सहमतिको आधारमा चुनावी सरकार बनाउने पक्षमा प्रधानमन्त्री रहेको पौडेलले बताए।

उनले भने, “चुनावको घोषणा, संविधान संशोधन लगायतका अल्झिएका विषयहरुको गाँठो फुकाउने काम पहिलो चरणमा गर्ने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्व सहमतिको आधारमा टुंग्याउने पहिलेको अडान कायमै छ।”

राष्ट्रिय सरकार, निर्वाचन घोषणाजस्ता विषयमा एकीकृत माओवादी र ठूला विपक्षी दलहरु सहमति नजिक पुगिसकेको जानकारी प्रचण्डले गत सप्ताहान्तमै राष्ट्रपति रामवरण यादवलाई गराएका थिए।

‘आश्चर्य’

तर लगत्तै प्रधानमन्त्री भट्टराईले त्यस्तो सहमतिप्रति असहमति जनाउँदै सरकारको नेतृत्व छोड्न नमानेपछि एकीकृत माओवादी पार्टीभित्र अप्ठ्यारो स्थिति सृजना भयो।

त्यस्तो अवस्थाबाट आफुहरु आश्चर्यचकित भएको प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेलले बताए।

"अध्यक्षले अब देश सहमतितिर अघि बढ्यो भनेपछि फेरि बाबुरामजीको सोचाइ बदलियो, त्यसप्रति हामीलाई आश्चर्य लागिराख्या छ"

हरिबोल गजुरेल, प्रचण्ड निकट नेता

“अध्यक्षले अब देश सहमतितिर अघि बढ्यो भनेपछि फेरि बाबुरामजीको सोचाइ बदलियो, त्यसप्रति हामीलाई आश्चार्य लागिराख्या छ।”

लम्बिंदो राजनीतिक अनिश्चय र संकटकामाझ शनिबार बस्ने एकीकृत माओवादीको बैठकले माघमा हुने पार्टीको महाधिवेशनबारे पनि छलफल गर्ने बताइएको छ।

तर दलहरुलाई राष्ट्रिय सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको पाँचौ म्याद पनि शनिबार नै सकिने हुँदा राष्ट्रिय सरकारबारे निर्णय गर्न सो बैठकमाथि पार्टी भित्र र बाहिरबाट दबाब बढ्ने निश्चित छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।