राष्ट्रपतिले थप छलफल गर्ने

पछिल्लोपल्ट अपडेट गरिएको: 23.12.12, 21:32 NST सम्मका समाचार
दलका नेताहरु

सहमतिको निम्ति दलहरुबीच गम्भीर वार्ताहरु भएका छैनन्

पाँचौ समयसीमाभित्र पनि सहमति जुटाउन विफल दलका नेताहरुले आइतबार राष्ट्रपति रामवरण यादवसंगको भेटमा छिट्टै सहमति जुट्ने आशा व्यक्त गरेका छन्।

असहमतिका कारण राजनीतिक गतिरोधको गाँठो नफुकेको बेला आफु भारत भ्रमणमा जानु अघि राष्ट्रपतिले सोमबार विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आफ्नो निवासमा भेटघाटका लागि बोलाएका छन्।

सोही अवसरमार सहमतिको शुरुवात हुन सक्ने संकेत कतिपय नेताहरुले गरेपनि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमति जुट्न समय लाग्ने जनाए।

खनालले दलहरुबीच ‘प्याकेजमा’ सहमति नभइसकेको अवस्थामा त्यस्तो सहमति जुटाउन अझै दुई, तीन दिन लाग्ने सक्ने बीबीसीलाई बताए।

‘प्याकेज’

“सोमबार सम्ममा सहमति जुटाउनु पर्छ भन्ने कुराहरु गरेको हो, तर मेरो विश्लेषणमा सोमबारै सहमति जुट्न सक्दैन।”

"सहमति जुटाउन जुन ‘प्याकेजमा’ पुग्नु पर्छ, त्यो तयार गर्न मेरो विचारमा दलहरु लागिपर्ने हो भने दुई, तीन दिन लाग्छ"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

त्यसको कारणबारे उनले भने, “सहमति जुटाउन जुन ‘प्याकेजमा’ पुग्नु पर्छ, त्यो तयार गर्न मेरो विचारमा दलहरु लागिपर्ने हो भने दुई, तीन दिन लाग्छ।”

नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने सहमति नजिक पुगेको संकेत दलहरुले केही समय अघि दिएका थिए।

तर कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकारको बचाउ गर्दै संविधान निर्माणबारे सहमति र बैशाखमा निर्वाचन हुने गरी ‘प्याकेजमा’ सहमति हुनु पर्ने अडान राखेपछि राजनीतिक गतिरोध लम्बिएको कतिपयको ठम्याइ छ।

सहमतिको खोजी

शनिबार सकिएको पाँचौ म्याद भित्र पनि दलहरु सहमति जुटाउन विफल भएपछि राष्ट्रपतिले सोमबार बिहान विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलका नेताहरुलाई आफ्नो निवासमा बोलाएको राष्ट्रपति निवासबाट जारी एक विज्ञप्तीमा जनाइएको छ।

सोमबार अपरान्ह राष्ट्रपतिको भारत भ्रमणमा जाने कार्यक्रम छ।

आफु भारत भ्रमणमा जानु अघि नै दलहरुबीच सहमति जुट्ने आशा व्यक्त गरेका राष्ट्रपतिले सोमबार डाकेको सर्वदलीय बैठकबाट दलहरुलाई सहमति निर्माण गर्दै संकटबाट देशलाई निकास दिन दबाब बढ्ने कतिपयको विश्लेषण छ।

तर वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउदै सहमतिको यात्रा थाल्ने भन्ने प्रधानमन्त्री भट्टराईको अडानले गतिरोध लम्ब्याएको विपक्षीहरु बताउँछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।